कारोबार संवाददाता
सोमवार, माघ १, २०७४
856

साविक डुरुवा गाविसका मदन चौधरीको घर बेहुलीजस्तै बनेको छ । लिपपोतले घर सिंगारिएको हो, ध्वजा पतकाले भने होइन । घोराहीको गुलसियाका मनवीरको घरमा पनि माघीको रमझम देखिएको छ । घरभरि मालुकाका दुना खुट्न महिलाहरू व्यस्त छन् । पुरुषहरू माछा मार्न खोलामा गएका छन् । सरसफाइमा थारु समुदायले विशेष महत्व दिन्छन् ।
हरेक घरमा सरसफाइलाई विशेष महत्व दिइएको छ । थारु समुदायले यसलाई नयाँ वर्षका रूपमा समेत मनाउन थालेका छन् । “माघी मनाउने स्वरुप अब फेरिएको छ, अब यसलाई समृद्धिको ढोकासँग जोड्ने प्रयास भएको छ,” घोराही उपमहानगरपालिकाका प्रमुख एवं गारु अगुवा नरुलाल चौधरीले भने ।
समाज फेरिए पनि संस्कृतिलाई जीवन्त दिने चिन्ता अझै पनि समुदायमा छ । आइतबार साँझदेखि यी समुदायले बस्ती–बस्तीमा आफ्ना मघौटा नाँच देखाउने छन् । त्यसका लागि मादल मोहोरी सकिएको छ । मजुरा तयार छन्, अनि घुङ्ना पनि खोज्दै छन्, । सक्नेले साम्प्रदायिक वाद्यवादनका सामग्रीको जोहो गरिरहेका छन्, नसक्नेले आधुनिकतामा जबर्जस्त रूपमा लम्किन थालेका छन् । शब्द नेपाली भाषा भाका थारुको थुप्रै जिंगल पछिल्लो समयमा माघीको अवसरमा घन्किन थालेका छन् ।

मुरिया, लाहान बाबा कि सगर गैनु हाँ,
करबी ढ्वाक सलाम बाबक याग हो,
करबी ढ्वाग सलाम डाइक याग हो ।

यसको अर्थ, बिहानै म गंगा
(सगर)बाट शुद्ध भएर आएँ, विशुद्ध भएर विशुद्ध मनले आफ्ना आमाबुबा, दाजु, दिदी तथा अग्रजहरूको प्रणाम, आदर, सम्मान गर्दछु ।
माघे संक्रान्तिकै दिन फेरि थारु समुदायका बठिनियाहरूले आफ्ना अभिभावकहरूलाई शृङ्गार सामग्रीहरूका लागि फकाउँदै अर्को गीत गाउँछन् । त्यो गीतको बोल यस्तो छ ः
टिकुली ले मङ्नु बाबा हाँ, टिकुली नै लेडेल्या र हाँ
भौंरक छुअलमअल टिकुली मल्हेर सखिय हो
त्यसपछि संक्रान्तिको भोलिपल्टदेखि थारु समुदायका युवतीहरूले गाउँघरका सबै सम्प्रदायका घरमा नाँच देखाउँछन् । त्यसलाई उनीहरूले मघौटा पनि भन्ने गरेका छन् । स्वस्फूर्त रूपमा देखाइने नाँचमा युवतीहरूको अग्रसरता हुन्छ, गाउने बजाउने सबै युवती नै हुन्छन् । तर, उनीहरूले जबर्जस्त रूपमा नाँचको दान भने उठाउँदैनन् । नाँच्दा–नाँच्दै ढिलो भएर कसैका घरमा घरबेटी उठेनन् भने उनीहरूले जबर्जस्त रूपमा ढोका खोल्दैनन् । त्यस्तो अवस्थामा उनीहरूले यस्तो गीत गाउँछन्,
उठो हजुर फुको एजुरार याई पुगली हम्र ।
हामी आइपुग्यौं, उठ्नुस हजुर अब उज्यालो (बत्ती) बाल्नुस् ।
तर, वाद्यवादन नभएका समुदायहरूले माघीलाई थप रौनक दिन भन्दै साउण्ड सिस्टमको समेत व्यवस्था गरेका छन् । सूचना प्रविधिलाई पछ्याउँदै उनीहरूले मेमोरी कार्डमा थारु भाषाका गीत पनि त्यत्तिकै बजाउन थालेका छन् । पाकाहरु माघी कहिले सकिन्छ, भनेर सोध्दा घैंटाको जाँड सकिएपछि, तर थारु समुदायमा सुँगुरको मासु र घैंटाको जाँड अनि अनदीको रोटीसमेत हराउँदै गएको छ । थारु युवाहरू पछिल्लो समयमा माघी संस्कृतिलाई पछिल्लो पुस्तामा ल्याउन भने जांगरिला देखिंदैनन् । मालुकाको दुनोलाई प्लास्टिकले विस्थापित गरेको छ । अनदीको झोललाई बजारिया शिलप्याक रक्सीले विस्थापित गर्न थालेको छ । यसमा थारु अगुवाको चिन्ता छ । पछिल्लो दशकको उपलब्धि भनेको कमैयामुक्ति आन्दोलनको सफलता अनि मुक्त कमलरीहरूको जिम्मा राज्यले लिइरहेको छ । तर पनि अझै माघिमा यी विषयहरु एठ्ने गरेका छन् । “थारु समुदायमा धेरै जागरण आएको स्वीकार छौं, तर अझै पनि थारु समुदायको आन्दोलन भने रोकिएको छैन, अब त्यसलाई स्थानीय तहले सम्बोधन गर्नेछ,” थारु समुदायका युवा नेता तथा भर्खरै निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी भन्छन् । त्यसो त थारु समुदायको शैक्षिक आन्दोलनका अगुवा डिल्लीबहादुर चौधरी पनि अझै समुदायको उत्थानमा अभ्यस्त छन् । उनी भन्छन्, “अब मुक्तिको आन्दोलनभन्दा शैक्षिक आन्दोलन र रोजगारीको आन्दोलनमा मैले भूमिका निर्वाह गर्नेछु ।” थारु समुदायमा टुकी बालेर शिक्षाको अभियान थालेका चौधरी अहिले प्रदेश सभा सदस्यमा समेत निर्वाचित भएका छन् । समय फेरिएसँगै माघीको स्वरुप पनि फेरिएको छ । तर एउटै चिन्ता माघीलाई कसरी साश्वत बनाउने भन्नेमा । माघीमा हुनेखाने थारु समुदायमा अब पाहुना सत्कारका लागि विदेशी रक्सी र खसी, कुखुराको मासुसमेत चल्दै आएको छ । अझै सम्पन्नहरूले त पाहुनालाई अस्ट्रिचको मासुसमेत खुवाउन पछि पर्दैनन् । त्यसैगरी नेवार समुदायले पनि माघी पर्वलाई आफ्नै तवरले मनाउँदै आएको नेवार समुदायका पत्रकार रोशनमान श्रेष्ठले बताए । माघीमा नेवार समुदायले नाँचगानलगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत नगरे पनि भेलीको चाकु, तिलका लड्डु, चामलको पिठोको यामोरीजस्ता सामग्रीको भोजनसहित माघी मनाउने गरिएको पनि उनले बताए । त्यसैगरी नेवार समुदायमा पनि अनदीको रोटी खाने चलन अझै रहिआएको छ । त्यस्तै मगर समुदायहरूले पनि माघीलाई विशेष महत्वका साथ मनाउने गरेका छन् । फापरको रोटीलाई भित्तामा राखेर धनुवाणले प्वाल पार्र्ने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्ने पनि चलन छ । त्यसलाई उनीहरूले तीर हान्ने मेलासमेत भन्ने गरेका छन् । त्यसका लागि निशानाका लागि निपूण व्यक्तिहरूले अघिल्लै सातादेखि अभ्यास गरिरहेका हुन्छन् । बाहुन–क्षत्री समुदायमा पनि माघी नभने पनि माघे संक्रान्तिको विशेष महत्व हुन्छ । मासको खिचडी, फुरौलादेखि विभिन्न प्रजातिका तरुलहरू उसिनेर खाने ती समुदायको परम्परा छ । त्यसैगरी साँझमा फापरको पिठोको फुलौरा खाने परम्परा पनि अझै विद्यमान रहेको छ, तर अचेल फापरको पिठो र अनदीको चामल क्रमशः हराउँदै गएकोमा भने ती समुदायले चिन्ता व्यक्त गरेका छन् ।