कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४
1553

लटरम्म फलेको सुन्तलाका कारण गुल्मीका अधिकांश गाउँ अहिले पहेलपुर देखिएका छन् । कफी खेतीपछिको मुख्य आम्दानीको स्रोत सुन्तला पनि हो गुल्मीमा । छत्रकोट गाउँपालिकाअन्तर्गत साविकको हर्दिनेटा–६ को लुम्छा गाउँमा सुन्तला लोभलाग्दो गरी लटरम्म फलेको छ । गुल्मीको मुसिकोट नगरपालिका–९ अर्लाङ्कोटमा पनि सुन्तलाले गाँउ नै पहेंलो बनाएको छ । यो क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र नै मानिएको छ । तर यो उत्पादन सन्तोषजनक भने होइन ।
गुल्मीको अर्लाङ्कोट, नयाँगाउँ, पिपलधारा हाडहाडे, भनभने, धुर्कोट, अर्खले, हुँगा, हर्दिनेटा र दिगाम स्वादिलो सुन्तलाका गाउँका रूपमा परिचित छन् । तर यस वर्ष किसानले सुन्तलाबाट सोचेजस्तो फाइदा लिन भने सकेनन् ।
विगतका वर्षमा सुन्तला उत्पादनमा राम्रो आम्दानी गरेका गुल्मीका कृषक यस वर्ष भने निराश बनेका छन् । हिउँदको महिनामा सुन्तला व्यवसाय गरेर नै लाखौंको कारोबार गर्ने कृषकहरू अहिले सुन्तला उत्पादन घटेसँगै समस्यामा परेका हुन् ।

उत्पादनमा ३५ प्रतिशत गिरावट
जिल्ला कृषि बिकास कार्यालय गुल्मीका कृषि विकास अधिकृत चक्रपाणी पन्थीले गुल्मीमा यस वर्ष ३० देखि ३५ प्रतिशतसम्म सुन्तला उत्पादनमा कमी आएको बताए । पाकेको सुन्तला कृषकले ढिलो टिपेको, फूल फुल्ने बेलामा खडेरी परेको, फूल पनि पातलो मात्रमा फक्रिएको र त्यसमाथी पतेरो लागेका कारण सुन्तला उत्पादनमा कमी आएको हो । “यसपाली सुन्तलाका दाना पनि निकै साना भए, असोजको अन्तिम सातातिरबाट पानी नपरेका कारण दाना साना भएका हुन्,” पन्थीले भने ।
मालिका गाउँपालिकामा पनि सुन्तला निकै कम फलेको कृषि विकास कार्यालय गुल्मीले जनाएको छ । मदानो गाँउपालिका कृषि प्राविधिक सेवा केन्द्रकी प्रमुख प्राविधिक सहायक फुलनदेवी चौधरीले विगतको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा ४० प्रतिशतले कमी आएको बताइन् ।
मुसिकोट नगरपालिकाअन्तर्गत सबैभन्दा बढी सुन्तला फल्ने ठाउँ वडा नम्वर ९ अर्लाङकोटको ददल्का हो । सुन्तला कारोबार गरेकै कारण सुन्तलावाला नामले परिचय कमाएका मुसिकोट–९ अर्लाङ्कोटका युवा सुधन खरेलले विगतका वर्षमा ६ टनसम्म सुन्तला कारोबार गरेका थिए । तर अहिले सुन्तला उत्पादनमा कमी आउँदा आफूहरू निरास बनेको उनले बताए । “गत वर्ष करिब ३० लाख रूपैयाँको सुन्तलाको कारोबार गरेका थियौं, तर यसपाली त्यस्तो छैन,” खरेलले भने ।
त्यही गाउँका घनश्याम ढकालका सय वटा सुन्तलाका बोट छन्, उनकै छिमेकी धनप्रसाद ढकालका २ सय बोट छन् । तारानाथ खरेलका पनि २ सय वोट छन् । गनेन्द्र खरेलका २ सय ५० र भिम भण्डारीका सवैभन्दा बढी ४ सय बोट छन् । गत वर्षसम्म लटरम्म ठूला–ठूला दाना फल्ने उनीहरूको सुन्तला बगैंचा यति वेला निराशाजनक अवस्थामा छन् ।
विगतका वर्षहरूमा डेढ लाखदेख २ लाखसम्मको आम्दान गर्ने किसानको आम्दानी यस वर्ष ३५ प्रतिशतले घटेको छ । सुन्तलावाला खरेलले गतवर्ष भन्दा यस वर्ष ९ लाख रूपैयाँ कमको सुन्तला निर्यात गरेका छन् । कृषि सम्पर्क केन्द्र वामीका प्रमुख वीरेन्द्र रावतले पनि सन्तोषजनक रूपमा सुन्तला उत्पादन नभएको बताए ।
सुन्तलाको अर्को पकेट क्षेत्र साविकको अर्खले गाविससहितको रेसुङ्गा नगरपालिकाका प्राविधिक सहायक चेतनारायण पन्थीले यस वर्ष करिव ५० प्रतिशत सुन्तला उत्पादनमा कमी आएको बताए । यसै नगरपालिकासँग जोडिएको गुल्मी दरबार गाउँपालिकामा करिव ३० प्रतिशत सुन्तला उत्पादनमा कमी आएको बताइएको छ । छत्रकोट गाउँपालिकाका प्राविधिक सहायक शिव बञ्जाडेले मुख्य पकेट क्षेत्र मानिएका हुँगा, हर्दिनेटा र दिगाममा सुन्तला उत्पादनमा २० प्रतिशतसम्म कमी आएको बताए ।
उता सत्यवती गाउँपालिकाका प्राविधिक सहायक मुक्तिप्रसाद भण्डारीले १५ देखि २० प्रतिशत सुन्तला उत्पादनमा कमी आएको जानकारी दिए ।
जिल्लाको पूर्वी गाउँपालिका कालिगण्डकीका प्राविधिक सहायक ताराप्रसाद चापागाईले त्यस गाउँपालिकामा २५ प्रतिशत सुन्तला उत्पादनमा कमी आएको बताए ।
जिल्लाको सुन्तला पकेट क्षेत्र कूल ६ सय ९७ हेक्टर र उत्पादनशील १ सय ३८ हेक्टर रहेको प्राविधिक सहायक दोमलाल भुसालले जानकारी दिए ।

५ करोडको घाटा
गुल्मीमा गतवर्ष ३ हजार १ सय ३९ टन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ । यस वर्ष २ हजार १ सय ७४ टन मात्र उत्पादन भएको कार्यालयले जनाएको छ ।
गतवर्ष गुल्मीमा १५ करोड ६९ लाख रूपैयाँको सुन्तला उत्पादन भएको थियो । अहिले करिब ३५ प्रतिशतले कमी आउँदो किसानलाई ५ करोडको घाटा पर्न गएको कृषि विकास कार्यालय गुल्मीका प्रमुख चक्रपाणी पन्थीले बताए ।