केदार दाहाल
आइतवार, पुष २३, २०७४
954


अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानविन टुंगोमा नपुग्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सलाई उडान अनुमति दिएकाले नेपाली आकाशमा पुरानो जहाज उडिरहेको पाइएको छ ।

श्री एयरलाइन्सको पुरानो जहाजलाई उडान अनुमति दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गत जेठ ३० मा उजुरी परेको थियो । सो उजुरीउपर आयोगले नागरिक उड्डयन प्राधिकरणलाई ७ दिनभित्र सवै कागजपत्र उपलबध गराउन २०७४ असार १६ गते पत्र काटेको थियो । सोही पत्रअनुसार प्राधिकरणले २०७४ असार २५ गते सवै कागजपत्र पठाएको थियो । आयोगले मागेबमोजिम प्राधिकरणले श्री एयरलाइन्स जहाजको सी.आर.जे वायुयान सञ्चालन गर्न दिएको अनुमतिको काजगपत्र, एओसी नविकरणको फाइल तथा विदेशी मुद्रा सिफारिसको डकुमेन्टसमेत पठाएको छ । तर अनुसन्धान भने अझै टुगिएको छैन । अनुसन्धान चलिरहे पनि उक्त विवादित जहाज भने उडिरहेको छ ।
अख्तियारमा छानविन चलिरहेको र अन्तिम चरणको पुगेको यस शंकास्पद जहाजलाई प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले २०७३ फागुन २७ मा फाइल उठेकै दिन सदर गर्दै उडान अनुमति पत्र (एओसी) दिएको खुलेको छ । नेपाल आउँदा १५ वर्ष कटिसकेको श्री एयरलाइन्सको सो जहाजलाई प्राधिकरण नेतृत्वले १४ वर्ष १० महिना पुरानो देखिने कागजात बनाई हतारमा अनुमति दिएको देखिएको छ । जहाज १५ वर्ष पुरानो भएपछि नेपाल ल्याउन नपाइने नियम भएकोले हतारमा प्राधिकरण नेतृत्वले श्री एयरलाइन्सलाई अनुमति दिएको स्पष्ट देखिन्छ ।
साथै, श्री एयरलाइन्सले एओसी रिक्वाएरमेन्टका पाँच वटा प्रक्रिया नै पूरा नगर्दै उडान अनुमतिसमेत दिइएको पाइएको छ । जसमा प्रि–एप्लीकेसन फेज, एप्लीकेसन फेज, डकुमेन्ट फेज, इभ्यालुसन फेज र सर्टिफिकेसन फेज रहेको छ । उक्त पाँचमध्ये पहिलो तीन फेज पूरा गरेपछि मात्रै नो अब्जेक्सन सर्टिफिकेट दिने र सो सर्टिफिकेट प्राप्त गरेपछि मात्रै एयरलाइन्सहरूलाई वायुयान नेपाल ल्याउन अनुमति पाउने व्यवस्था छ । तर, महानिर्देशक गौतमको ठाडो आदेशमा प्रक्रिया नै पूरा नगर्दै पुरानो जहाज ल्याउने प्रक्रियामा रहेको जहाजको उमेर १५ वर्ष कट्न नदिनका लागि प्रक्रिया छोट्याएर अनुमति दिएको प्राधिकरण उच्च स्रोतले जानकारी दिएको छ ।
प्राधिकरण स्रोतका अनुसार नेपालमा १५ वर्षभन्दा बढी पुरानो जहाजलाई नेपाल ल्याउन अनुमति दिइँदैन । तर, कानुनको छिद्र प्रयोग गर्दै एयरलाइन्स र प्राधिकरण नेतृत्वको मिलोमतोमा पुरानो जहाज भिœयाइएको पाइएको छ ।
श्री एयरलाइन्सले सन् २००१ मार्च महिनामा क्याडियन कम्पनी बम्बार्डियरले उत्पादन गरेको जहाज सि.आर.जे–२०० सिरिजको ९ एन–ए.एम.सी कलसाइनको जहाज गत वर्ष सन् २०१७ को अप्रिलमा नेपालमा ल्याएको थियो ।
श्री एयरलाइन्सले १४ वर्ष १० महिना पुरानो जहाजलाई स्विकृति लिएको भए पनि नेपाल आउँदा भने १५ वर्ष पुरानो भइसकेको थियो । यस्तैगरी श्री एयरलाइन्सले सि.आर.जे ७०० सिरिजको जहाज पनि १५ वर्ष ६ महिना पुरानो भएको छ । तर श्री एयरलाइन्सले स्विकृत लिँदा जहाज १४ वर्ष ९ महिना पुरानो रहेको थियो । उक्त जहाज श्री एयरलाइन्सले सन् २०१७ को जुन महिनामा नेपाल भिœयाएको थियो ।
यसैगरि, श्री एयरलाइन्सले सि.आर.जे वायुयान संचालन गर्ने सम्बन्धमा वायुयान चालकहरूलाई जर्मनीमा तालिममा पठाउँदासमेत विदेशी मुद्राको प्राधिकरणको सिफारिस नै नलिएको खुलेको छ । तालिम दिने संस्था जर्मनको लुफ्थान्सालाई प्राधिकरणको स्विकृतिसमेत नलिइ डलर भुक्तानी दिइएको समेत खुलेको छ । एयरलाइन्सले प्राधिकरणमा सिफारिस दिएको भए पनि गौतमले अहिले आवश्यकता नपर्ने भन्दै मोटो रकम लिएर जर्मनमा तालिमको लागि पठाइदिएको समेत खुलेको छ ।