लक्ष्मी सापकोटा
बुधवार, पुष १९, २०७४
1357

वीरगन्जको सुपर ग्यास उद्योगमा उद्योगमा मानवीय कमजोरीका कारण आगलागी भएको स्थलगत अध्ययनले देखाएको छ । उद्योग व्यवस्थापनले सुरक्षाका न्यूनतम मापदण्ड पनि पूरा नगर्दा दुर्घटना भएको सरकारी छानबिन टोलीले निष्कर्ष निकालेको हो ।सुपर ग्यास उद्योगमा हालै भएको दुर्घटनापछि त्यसको सत्यतथ्य छानबिन गर्न गठित छानबिन समितिले गरेको अध्ययनले व्यवस्थापकीय कमजोरीले दुर्घटना भएको फेला पारेको छ । उपभोक्ता हित तथा आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा गठित छानबिन समितिले स्थलगत अध्ययनले यस्तो निचोड सार्वजनिक गरेको हो । समितिका संयोजक कुमार प्रसाद दाहालले अध्ययनका क्रममा व्यवस्थापकीय कजोरीका कारण ग्यास उद्योगमा दुर्घना हुन पुगेको फेला परेको बताए । “मानवीय कमजोरीका कारण मुलुकै इतिहासमा ठुलो दुर्घटना भयो,” संयोजक दाहालले भने“ ३५ देखि एक मिनेटको समयमा सुरक्षाको मापदण्ड अपनाउन सके दुर्घटना हुनबाट रोक्न सकिन्थ्यो ।”
अपरेटरको उपस्थितिबिना नै प्राविधिक ज्ञान नभएका बुलेटका ड्राइभरले ग्यास अनलोड गर्दा दुर्घटना भएको छानबिन समितिका संयोजक दाहालले बताए । “ग्यासजस्तो प्रज्वलनशील वस्तु अनलोड गर्दा अपरेटर पनि छैनन्,” दाहालले भने, “उद्योग व्यवस्थापनको गम्भीर लापरवाहीले ठूलो दुर्घटना भएको देखिन्छ ।” मानवीय लापरबाही हुने हो भने मुलुकमा सञ्चालित रहेको सवै उद्योग असुरक्षित अवस्थामा रहेको उनको भनाइ छ ।

पुस ५ मा ग्यास उद्योगमा दमकलबाटै आगलागी हुँदा तीन जनाको ज्यान जानुका साथै करिब आठ करोड रुपैयाँको क्षति भएको थियो । आगोले जलेर करिब ८ करोड रुपैयाँको क्षति भएको थियो । उद्योगका चारवटा बुलेट, प्लान्ट, दुईवटा ट्रक, सिलिन्डरमा क्षति पुगेको थियो । ड्राइभरले स्टोरेज (भण्डारण) प्लान्टमा जाने पाइप जोडे पनि स्टोरेज ट्यांकको भल्ब नखोली बुलेटको कनेक्सन खोलेर छाडेपछि ग्यास लिकेज (चुहावट) भएको अनुसन्धान टोलीले जनाएको छ । समितिले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारिसकेकाले एक दुई दिनमै मन्त्रालयमा पेश गर्ने दाहालले जानकारी दिए ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट ग्यास लिएर आएको बुलेटबाट ड्राइभरले सुपर ग्यासको प्लान्टमा ग्यास अनलोड गर्दा लिकेज भएर ग्यास फैलिएपछि आगो लागेको थियो । उद्योगमा बिहान साढे ५ बजेतिरबाट ग्यास लिकेज भए समयमा दमकल आइनपुग्दा ठुलो क्षति हुन पुगेको दाहालको भनाइ छ । एक सय मिटर ग्यास फैलिएर आगलागी सुरु भएको अध्ययन टोलीको भनाइ छ ।
उद्योगका कर्मचारीले प्रहरी र सर्वसाधारणलाई तीन सय मिटर टाढै बस्न भने पनि दमकमल सीधै गेटतर्फ जाँदा आगो लागेको छानबिन समितिको ठहर छ । समितिले केही दिनमा सरकारलाई प्रतिवेदन बुझाउने जनाएको छ । समितिले ग्यास उद्योगहरूलाई मापदण्ड तोकेर कडाइका साथ कार्यान्वयन गर्न सुझाव दिने तयारी गरेको छ ।चालकलाई प्राविधिक ज्ञान नहुँदा तीन सय मिटरको दूरीमा बस्नुपर्नेमा दमकल उद्योगको गेटनजिकै पुगेपछि एक्कासी आगलागी सुरु भएको भेटिएको छ । चालकको अज्ञानता र असावधानीले उद्योगमा आगलागी भई दुर्घटना भएको अध्ययन टोलीको भनाइ छ ।
उद्योग परिसरमा पाँच लाख लिटरको पानीपोखरी, पानी तान्ने पम्प, जेनेरेटर, बोटलिङ गर्ने ठाउँमा वाटर स्प्रिंकल, ड्राई केमिकल पाउडर, बालुवा, फायर मोनिटरको व्यवस्था गर्न पनि उद्योगले त्यति चासो दिने गरेका छैनन् । उद्योगीले आवश्यक मापदण्ड र सुरक्षाको उपाय नअपाउदा दर्घटना हुन पुगेको अध्ययन टोलीको भनाइ छ ।
ग्यास उद्योग सञ्चालन गर्दा गाउँबस्तीभन्दा पाँच किलोमिटरको दूरीमा हुनुपर्ने व्यवस्था गरिए पनि उद्योगीले त्यसको पालना गरेका छैन । मुलुकमा विभिन्न ५५ वटा ग्यास उद्योग सञ्चालनमा छन् ।
निगमले जारी गरको एलपी ग्यास विनियमावली–२०६५ (संशोधन सहित) को (३) (घ) मा ग्यास उद्योग सञ्चालनका लागि सैद्धान्तिक सहमति दिँदा उद्योग ‘गाउँबस्तीभन्दा पाँच किलोमिटर दुरीमा स्थापना गर्ने’ उल्लेख गरिएको भए पनि उद्योगले यो मापदण्ड पूरा गरेका छैनन् । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन उद्योग व्यवसायी र निगमकै कमजोरीका कारण ग्यास उद्योगमा दुर्घटना भएको बताए । मुलुकमा सञ्चालित अधिकांश उद्योगले आवश्यक सुरक्षाका मापदण्ड पूरा नगर्दा दुर्घटना हुन पुगेको बताउँछन ।


सातामा धेरै पढिएको