कारोबार संवाददाता
बिहिवार, मंसिर २८, २०७४
998

स्विट्जरल्यान्डमा नेपाल मौलिक परिकारको प्रवद्र्र्धन गरिएको छ । नेपाली मौलिक परिकारको पहिचान राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय पर्यटन बजारमा विस्तार गराउन राजधानीस्थित ग्लोबल एकेडमी अफ टुरिजम् एण्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज, काठमाडौं) का सेफ कुमार चालिसेले स्विजरल्यान्ड पुगेका हुन् । स्विजरल्यान्डको होटल म्यानेजमेन्ट स्कुल थनमा आयोजित “टेस्टिङ नेपाल– नेपाली सेफ इभेन्ट”मा करिब एक दर्जन नेपाली खानाका परिकारहरू प्रस्तुत गरियो । स्मरणीय के छ, भने काठमाडौको गेट कलेज र स्विजरल्यान्डको होटल म्यानेजमेन्ट स्कुल थनमा दुवै होटलरी स्विस–स्विस होटल एसोसियनका सम्बन्धन प्राप्त होटल व्यवस्थापन कलेजहरू हुन् ।
स्वीस होटल एसोसिएसनकै संयोजनमा आयोजित उक्त कार्यक्रममा स्विजरल्यान्ड, जर्मन, फ्रान्स, इटालीका करिब २०० जना खानाका पारखीहरु सहभागी भएका थिए । “नेपाली परिकारहरूप्रति सहभागीहरूको निकै राम्रो र सकारात्मक प्रतिक्रिया प्राप्त भयो, नेपालको परिकार विश्वका अन्य परिकारभन्दा निकै भिन्न किसिमले पकाइने, तयार गरिने भएकाले विशेषगरी युरोपेली खाद्य पारखीहरूले मन पराए,” सेफ चालिसेले भने । उनका अनुसार कार्यक्रममा मार्सी भात, हिमालयन दाल, माछाको झोल, करेसाबारीको साग, टिम्बुर कुखुराको लेदो, चोखो तिहुन, काक्रोको अचार, स्विस चकलेट मस्म, आलुको परिकार, नेपाली सलाद पस्किइएको थियो । नेपाली परिकारको लोकप्रियता बढाउन स्वदेश तथा बिदेशका विभिन्न भागमा यस्ता कार्यक्रम सञ्चालन गराउदै आएका चालिसेले यसअघि मकाउ, दुबई ,हङकङ ,अस्ट्रेलिया लगायतका मुलुकमा समेत नेपाली खानेकुराको प्रवद्र्धन गरिसकेका छन् । हस्पिटालिटीको क्षेत्रमा स्विजरल्यान्ड प्रसिद्ध रहेको भन्दै उनले त्यहाँ नेपाली खाद्यको प्रवर्धन गर्न पाउनु नेपालका लागि समेत गर्वको कुरा भएको बताए ।