कारोबार संवाददाता
बिहिवार, मंसिर १४, २०७४
686

ग्लोबल आईएमई बैंकको सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बैंकको बुधबार बसेको बैंक सञ्चालक समितिको बैंकठले यसअघि कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा रहेका पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
लन्डनबाट एमबीए गरेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव संगाली सकेका छन् । उनले सन् १९८७ मा इन्ट्री लेभलमार्फत नविल बैंकबाट आफ्नो करियर सुरु गरेका थिए । नबिल बैंकमा ११ वर्ष काम गरेपछि उनी तात्कालीन एनआईसी बैंक हुँदै पाँच वर्ष काम गरेपछि फेरि लक्ष्मी बैंक स्थापनाका लागि प्रक्रिया थाल्न लक्ष्मी बैंकमा गएका थिए । लक्ष्मी बैंकमा एक वर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लन्डन गए । लन्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव उनीसँग छ । उनले त्यहाँ साढे चार वर्ष काम गरेको अनुभव संगालेका छन् । त्यसपछि उनले तात्कालीन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रूपमा काम सुरु गरेका थिए । तात्कालीन ग्लोबल बैंकको सहायक महाप्रबन्धबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा कामु प्रमुख कार्यकारी अधिकृत हुँदै उनी ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा चयन भएका हुन् ।