कारोबार संवाददाता
सोमवार, मंसिर ११, २०७४
980

बन्द भएको ३८ महिनापछि मुलुककै ऐतिहासिक उद्योग विराटनगर जुट मिल्स सञ्चालनमा ल्याइएको छ । २०७१ साल भदौयता बन्द रहेको जुट मिल्स नयाँ व्यवस्थापनमा सञ्चालनमा ल्याइएको हो । हालका लागि दैनिक ५ टन जुटका सामग्री उत्पादन गर्नेगरी मिल सञ्चालनमा ल्याइएको मिल्सका प्रबन्ध निर्देशक निलहरि काफ्लेले जानकारी दिए । पुस १ गतेबाट भने २० टनसम्म उत्पादन क्षमता बढाइने उनले बताए । पहिलो चरणमा मिलबाट सुतली र बोराको उत्पादन सुरु गरिएको छ ।
नयाँ व्यवस्थापनमा रहेका सदस्यहरूको निजी २ करोड रुपैयाँको लगानीमा उत्पादन सुरु गरिएको निर्देशक काफ्लेले जानकारी दिए । २०७४ वैशाखमा मिलको सेयर बिक्रीपछि हाल नेपाल सरकारको ३३ प्रतिशत र बांँकी निजी क्षेत्रको लगानी रहेको काफ्लेले जानकारी दिए । नेपाल सरकारले पटकपटक गरी मिल सञ्चालन गर्न १ सय १३ करोड रुपैयाँको ऋण लगानी गरिसकेको छ । मुलुककै सबैभन्दा पुरानो उद्योगका रुपमा स्थापित विराटनगर जुट मिल राजनीतिक हस्तक्षेपका कारण पटक–पटक बन्द हुँदै खुल्दै आएको थियो ।

वि.सं. १९९३ सालमा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै होइन मुलुकका अन्य क्षेत्रमा समेत उद्योग स्थापनाको लहर चलेको थियो । राजनीतिक हस्तक्षेप र लोडसेडिङका कारण यो उद्योग पटक–पटक बन्द हुने र खुल्ने गरेको थियो ।
यो उद्योगको स्थापनासँगै नेपालमा औद्योगिक क्रान्ति सुरु भएको थियो । यो उद्योगबाट देशको राजनीतिक क्रान्ति पनि अगाडि बढेको हो । मजदुर हड्तालका नामबाट वि.सं. १९०३ मा यही उद्योगबाट सुरु भएको क्रान्तिले राणा शासनको अन्त्य गरेको थियो । पटक–पटक बन्द हुँदै खुल्दै आएको जुट मिल सञ्चालनको जिम्मा पछिल्लोपटक भारतीय कम्पनी विमसम इन्टरनेशनललाई दिइएको थियो । हरेक वर्ष नेपाल सरकारलाई १ करोड ३५ लाख रुपैयाँ बुझाउने गरी विमसमलाई सञ्चालन गर्न दिइए पनि लोडसेडिङका कारण लामो समय सञ्चालन हुन सकेन ।
सरकारबाट २५ वर्षका लागि जुट मिल लिजमा २०६९ सालमा पाए पनि विमसमले जम्मा १ वर्ष ३ महिनामात्रै सञ्चालन गरेको थियो । त्यसयता यो ऐतिहासिक उद्योग बन्द थियो ।
स्थानीय निर्वाचनमा सबै राजनीतिक दलले जुट मिल संचालनलाई प्रमुख एजेण्डा बनाएका थिए । अहिले पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सबै दलले जुट मिललाई दीर्घकालसम्म संचालन गर्ने एजेण्डा अघि सारेका छन् ।
“यो उद्योग विराटनगरको दक्षिण क्षेत्रका बासिन्दाका लागि प्राण नै थियो,” वडा नम्बर १६ का अध्यक्षसमेत रहेका उद्योगका पूर्वमजदुर मनोज सुब्बाले भने, “अब पुनः मिल संचालन भएपछि यो क्षेत्रमा खुसीयाली छाएको छ ।” जुट मिल पूर्णरुपमा सञ्चालन हुने हो भने ३ हजार ५ सयले रोजगारी पाउँछन् भने दैनिक ४५ टन जुटजन्य सामान उत्पादन हुन्छ ।
भारतको कोलकतास्थित विमसम इन्टरनेसनलले सरकारबाट व्यवस्थापकीय जिम्मा पाएको करिब एक वर्षपछि ८ करोड रुपैयाँ खर्च गरेर पुराना पार्टपुर्जा मर्मतपछि परीक्षण उत्पादन सुरु गरेको थियो । दैनिक ८ मेट्रिक टन जुट व्याग उत्पादन गरिरहेको मिल व्यवस्थापनले तयारी जुटवस्तु भारत निकासीसमेत गर्न थालेको थियो । तर, विद्युतमा देखिएको समस्याका कारण विमसमले समेत मिल सञ्चालन गर्न सकेन र व्यवस्थापकीय जिम्मेवारीबाट हात झिक्यो । त्यसयता लगातार उद्योग बन्द हुँदा स्थानीयसमेत चिन्तित थिए ।

मीनकुमार नवोदित