कारोबार संवाददाता
मंगलबार, कार्तिक २८, २०७४
826

हुण्डाईको नयाँ संस्करणको भर्ना सेडान कार सार्वजनिक भएको छ । हुन्डाई गाडीको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबार ५औँ पुस्ताको द नेक्स्ट जेन भर्ना सार्वजनिक गरेको हो । लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ र निराकर श्रेष्ठले संयुक्त रुपमा भर्ना सार्वजनिक गरेका हुन् ।
हुन्डाइ भर्ना आकर्षक बनोट र अत्याधुनिक विशेषता तथा सुविधा सम्पन्न कार भएको कम्पनीको भनाइ छ । हुन्डाइले यसको डिजाइन, पर्फर्मेन्स, फिचर्स र सेफ्टीमा कुनै सम्झौता नगरेको जनाएको छ । यो गाडीलाई बलियो बनाउनको लागि उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको र उक्त स्टिल हुण्डाईको आफ्नै प्लान्टमा तयार पारिएको लक्ष्मी इन्टरकन्टिनेन्टलका कर्पोरेट सेल्स म्यानेजर अनिश लामिछानेले बताए । हुन्डाईको भर्ना गाडी संसारभर हालसम्म ८८ लाख वटा बिक्रि भइसकेको छ । हुण्डाइको भर्ना कार ६६ वटा देशमा बिक्री वितरण हुँदै आएको छ ।

तीन वटा भेरिएन्टमा उपलब्ध यो कारको मूल्य इएक्सको ४२ लाख ९६ हजार, एसएक्सको ४४ लाख ९६ हजार, इएक्स अटोमेटिकको ४६ लाख ९६ हजार तोकिएको छ । यो कार ६ रंगहरुमा उपलब्ध छ । भर्नाले २०१२ देखि नै नेपालीहरुको मन जितेको हुनाले त्यसैको नयाँ भर्सन नेपालमा उत्तिकै लोकप्रिय हुने लक्ष्मी इन्टरकन्टिनेन्टलका सेल्स एण्ड मार्केटिङ डीजीएम रुपेश शर्मा भट्टले बताए । यो गाडी पहिलेका संस्करण भन्दा धेरै सुधारीएको पनि छ, भारतमा बनेको हुनाले नेपाली बाटोका लागि उपयुक्त हुने उनको दाबी छ । यसमा एलइडी टेल ल्याम्प, सार्क फिन एन्टेना, हुड क्यारेक्टर लाइन्स, मस्क्युलर ड्योल टोन बम्पर, रेयर क्रोम गार्निस, ७ इन्च टच स्क्रिन लगायत विशेषता छ । १ हजार ५ सय ९१ सीसी इन्जिन क्षमताको यो कारमा कुल्ड ग्लोभ बक्स, डोरसाइड म्याप पकेट, उचाइ मिलाउन सकिने सिट, रेयर सिट कप होल्डर, लगेज ल्याम्प जस्ता विशेषता पनि समाविस्ट छन् ।
यो कारको प्रतिस्पर्धामा होण्डा सिटी, फक्सवागन वेन्टो लगायत हुने कम्पनीले जनाएको छ । नेपालमा यो पेट्रोल भेरियन्टमा मात्र उपलब्ध हुनेछ ।

भर्नाका मुख्य विशेषता
क्षमता – १५९१ सिसी
पावर – १२३ पिएस २ ६४०० आर एमपी
टर्क – १५.४ केजिएम २ ४८५० आरएमपी
६ स्पिड गेयर (म्यानुअर र अटोम्याटिक)
६ रंगमा उपलब्ध
मूल्य - ४२ लाख ९६ हजारदेखि ४६ लाख ९६ हजारसम्म