कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
479

बाँके-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण व्यापार व्यवसाय धरासायी भएको भन्दै नेपालगन्जका व्यवसायीहरूले विशेष राहत तथा सुविधा प्रदान गर्न सरकारसँग माग गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा आज नेपाल राष्ट्र बैंक नेपालगन्जमा ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरूले सरकारले मौद्रिक नीतिमार्फत आवश्यक व्यवस्था गरी राहत तथा सुविधा प्रदानगर्न माग गरेका हुन् ।
संघले बुझाएको ११ बुँदे माग सहितको ज्ञापनपत्रमा विद्यमान सबै ऋणलाई दुई वर्षको लागिब्याज र किस्तालाई पुँजीकरण गर्ने र दुई वर्ष भित्र न्यूनलागतमा ब्याज तिर्ने व्यवस्था गर्नुपर्ने, मासिक, त्रयमासिक किस्ताहरूको भुक्तानी अवधी कम्तीमा पनि ६ महिनासम्म स्थगित गर्ने व्यवस्था तथा अन्य कर्जाको भुक्तानी म्याद २ वर्षदेखि ५ वर्षसम्म कायम गर्नुपर्ने, कोभिड–१९ को असरले घाटामा गएका कम्पनी तथा फर्मलाई कारोबारको अनुपातमा पुर्नकर्जा प्रदान गर्ने व्यवस्था गर्नुपर्ने, आ.व. २०७७-०७८ को बजेटमा उल्लेख भएका कृषि, घरेलु, साना, मझौला उद्योग, पर्यटन क्षेत्रका व्यवसायीहरूलाई प्रदान गर्ने भनिएको पुनर्कर्जा तत्काल सहज र सरल तरिकाले कार्यान्वयन गर्नुपर्नेलगायतका बुंदाहरू उल्लेख गरिएका छन् ।

ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष अव्दुलवाहिद मन्सुरीले कोरोनाका कारण अर्थतन्त्र थप धरासायी बन्नबाट जोगाउन राष्ट्रबैंकमार्फत आउन लागेको मौद्रिक नीतिमा आफ्ना मागहरू सम्बोधन हुनुपर्ने बताए । उक्त अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले निकट भविष्यमा हुने आर्थिक महामन्दीको अवस्थालाई पूर्व आकंलन गर्दै त्यसको असर न्यून गर्नेतर्फ अर्थतन्त्र चलायमान हुनुपर्ने देखिएको बताए । यस्तो परिस्थितिमा उद्योग व्यवसायलाई राहतका निम्ति आर्थिक विधेयकका साथै मौद्रिक नीतिमार्फत  आवश्यक व्यवस्था गरी राहत तथा सुबिधा प्रदान गर्नका लागि संघका तर्फबाट माग गरिएको महासचिव चिरञ्जीवी ओलीको भनाइ थियो ।
उनले यसरी अस्तव्यस्त बनेको उद्योग, व्यवसायलाई बजेटले कुनै राहत दिन नसके पनि मौद्रिक नीतिले राहत दिने विश्वास व्यक्त गरे ।
ज्ञापन पत्र बुझाउनु अघि नेपालगञ्ज उद्योग वाणिज्य संघको कार्यालय त्रिभुवन चोकबाट सुरु भएको दबाबमुलक -याली न्युरोड, धम्बोझी हुँदै नेपाल राष्ट्र बैंकको कार्यालयमा पुगेको थियो । व्यवसायीहरूको ज्ञापनपत्र बुझ्दै नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय नेपालगन्जका निर्देशक मुक्तिनाथ सापकोटाले उद्योगी, व्यवसायीले उठाएका मुद्दा केन्द्रीय कार्यालयमा पठाउने जानकारी दिँदै जायज मुद्दा सम्बोधन हुने बताए ।