कारोबार संवाददाता
बिहिवार, असार २५, २०७७
556

नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय सञ्चालन गरीरहेका साना ठूला सबै तहका उद्योगी व्यवसायीहरू गम्भीर संकटमा रहेकाले साँवा, ब्याज भुक्तानी गर्ने समयावधि बढाउन आग्रह गरेको छ ।
महासंघले यसै सन्दर्भमा उद्यमी व्यवसायीलाई असार मसान्तभित्र कर्जा तथा व्याज चुक्ता गर्न बैंक तथा वित्तीय संस्थाहरूको बारम्बारको ताकेताबाट उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको तथा पेशा व्यवसायबाटै पलायन हुने डरलाग्दो परिस्थिति निर्माण भइरहेको पनि जनाएको छ ।

कोरोनाको महाव्याधीका कारण विश्वसहित नेपाल पनि झण्डै ८० दिनभन्दा बढी पूर्ण लकडाउनको अवस्थामा रहयो । उक्त समयमा मुलकभित्र अत्यावश्यकबाहेक सम्पूर्ण उद्योग व्यवसाय ठप्प रहन पुगे । असार १ गते पश्चात लकडाउनको स्वरूपमा केही परिवर्तन गरी आम मानिसको दैनिक जीवनयापनदेखि अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको निर्णय बमोजिम केही सहजताको महशुस गरिएपनि सार्वजनिक यातायातको सञ्चालन नभएको लगायतका कारणबाट उद्योग व्यवसाय पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन भने चलेका पनि क्षमताको ३०÷४० प्रतिशतमात्रमा सञ्चालनमा रहेका, उत्पादित मालवस्तु निर्वाध बजारसम्म पु-याई बिक्री वितरण गरी नगद प्रवाह हुन नसकेको यथार्थ अवस्था छ । समग्रमा अर्थतन्त्र चलायमान बन्न नसक्दा यससँग प्रत्यक्ष जोडिएका साना ठूला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरू लगायत आम जनताको दैनिक जीवनयापन समेत अत्यन्त कठिन बन्दै गएको व्यवसायीहरुको गुनासो छ ।
वर्तमान कठिनतम घडीमा अर्थतन्त्रका महत्वपूर्ण आधार उद्योग व्यवसाय बचाउनु राज्यको प्रमुख दायित्व भएको भन्दै व्यवसायीहरुले २०७६ चैतदेखि सबै उद्योग व्यवसायले वित्तीय संस्थाहरूलाई भुक्तानी गर्नुपर्ने साँवा, ब्याजको समयावधि, स्थिति अनुकुल भई अर्थतन्त्र पूर्णरूपमा चलायमान नहुन्जेलसम्म बढाउन र ब्याजलाई पुँजीकरण गरी कर्जाको पुनरसंरचना र पुनर्तालिकिकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंक समक्ष गम्भीर आग्रह गरेको छ । साथै आगामी आर्थिक वर्षको मौद्रिक नीति यही असार मसान्तसम्म ल्याउन पनि महासंघले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।
जटिल परिस्थितिलाई मनन गरी उद्योग व्यवसाय बचाउनेतर्फ नेपाल सरकार र राष्ट्र बैंकबाट उचित पहल नभए कुनै पनि समय अर्थतन्त्र गम्भीर संकटमा फस्ने र मुलुक थप भयावहको स्थितिमा जान सक्ने महासंघले जनाएको छ ।