दीननाथ बराल
मंगलबार, असार २३, २०७७
875

पोखरा-पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा आवद्ध व्यवसायीहरूले सोमबार केही यात्रुवाहक सवारीसाधनको साँचो बैंकमा बुझाएका छन् । कोरोनाभाइरस (कोभिड–१९) को कारण देशमा लकडाउन हुँदा आफुहरूको आम्दानी ठप्प भएकाले बैंकको ब्याज बुझाउन नसक्ने अवस्था आएको भन्दै उनीहरूले बैंकमा साँचो बुझाएका हुन् ।
कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीका अनुसार बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर खरिद गरिएका सवारीसाधनको साँचो सम्बन्धित बैंकहरूलाई सोमबारदेखि बुझाउन थालिएको छ । उनका अनुसार सोमबार पहिलो दिनमा नै चारवटा बैंकलाई ९० वटा सवारी साधनको साँचो हस्तान्तरण गरिएको छ । न्यूनतम २० देखि ५० लाख मूल्य बराबरका सवारी साधनको साँचो एनएमबी, प्राइम कमर्सियल, मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकका क्षेत्रीय प्रमुख एवं सीईओमार्फत हस्तान्तरण गरिएको छ । न्यूनतम ६ महिनाको बैंक तथा वित्तीय संस्थाहरूको किस्ता भुक्तानी गर्ने समयावधि थप गर्न माग गर्दै कम्पनीले सोमबारदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई साँचो बुझाउन थालेको हो ।

बैंकका पदाधिकारीहरूले देशको हालको अबस्थामा राज्यले यातायात व्यवसायीलाई केही सम्बोधन गर्नु पर्ने राय व्यक्त गरेको बताइएको छ । आफ्ना सवारीसाधनको साँचो हस्तान्तरण गरिएको विषयमा जिल्ला प्रशाासन कार्यालय कास्की र नेपाल राष्ट्र बैंक पोखरा कार्यालयलाई बोधार्थ दिइएको उनले जनाए । दोस्रो चरणमा सवारीसाधन सहितको कागजात समेत बुझाउने तयारी गरिएको अध्यक्ष केसीले बताए । साउन एक गतेपछि पनि आफ्नो मागको सम्बन्धमा कुनै सुनुवाई नभएको खण्डमा आफ्ना सवारीसाधनसम्बन्धी बैंकको कार्यालय अगाडि लगेर सवारी साधन बैंकलाई बुझाउने कठोर निर्णय गर्ने भएको उनले दाबी गरे । लाइन लगाएर सवारीसाधन सम्बन्धित बैंक तथा विक्तिय संस्थालाई बुझाउने भएको अध्यक्ष केसीले जनाए ।
पोखरामा प्रधान कार्यालय रहेको कम्पनीले कोरोनाभाइरसको कारण देशमा लकडाउन हुँदा आफ्नो व्यवसाय धेरै प्रभावित भएको अवस्थामा राज्यबाट समेत राहत प्याकेज आउन नसकेकोले गर्दा अब आफूहरूसँग कुनै विकल्प नभएर उक्त निर्णय गर्न बाध्य भएको कम्पनीका अध्यक्ष केसीले जनाए । दोस्रो चरणमा पुनः बुधबार केही सवारी साधनका साँचो बुझाउने तयारी गरिएको उनले जनाए । उनले भने, “देशमा लकडाउन हुँदा धेरै क्षेत्रका व्यवसायीहरूलाई राज्यले केही न केही राहत प्याकेजको घोषणा ग¥यो, तर हाम्रो यातायात क्षेत्रमा कुनै सम्बोधन भएन, हामीलाई बैंक तथा वित्तीय संस्थाबाट किस्ता र ब्याज तिर्नको लागि ताकेता गर्दै मानसिक रूपमा तनाव दिन थालेका छन् ।”
यातायात व्यवसायी महासंघले पटकपटक पहल गर्दा माग सम्बोधन नगरेकोले अहिलेको अबस्थामा यातायात व्यवसायीहरूले किस्ता तथा बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको अध्यक्ष केसीको भनाइ छ । देशको बिषम परिस्थितिमा बैंक तथा वित्तीय संस्थाले ६ महिनापछि नाफा खाँदा आफूहरूको अर्बको व्यवसाय संरक्षण हुने उनको दाबी छ । उनका अनुसार हाल घर ग्यारेज गरी राखिएका सवारी साधनहरू अधिकांश तत्काल मर्मतसंहारको लागि न्यूनतम एक लाख खर्च आउने अवस्था रहेको छ । आफ्नो कम्पनीमा करिब १ हजार ४ सय वटा सवारीसाधन भएको दाबी गर्दै अध्यक्ष केसीले कम्पनीमा आवद्ध सवारी साधनमा करिब ५ अर्ब ६० करोड लगानी भएको जनाए । यातायात क्षेत्रमा करिब ७० प्रतिशत जसो बैंक तथा वित्तीय संस्थाले लगानी गरेको बाँकी ३० प्रतिशत भने यातायात व्यवसायीको रहेको उनले बताए । ६० प्रतिशतभन्दा बढी स्वरोजगार मजदुरहरू रहेको कम्पनीको दाबी छ । यातायात व्यवसायीहरूको बारेमा कुनै नेता, सांसदहरूले समेत चर्चा परिचर्चा नगरेको भन्दै यातायात व्यवसायीले गुनासो गरेका छन् ।