कारोबार संवाददाता
सोमवार, असार १५, २०७७
812

धनगढी उपमहानगरपालिकाले आफ्नो सपिङ कम्प्लेक्समा रहेका व्यवसायीहरुलाई आधा भाडा छुट दिने भएको छ ।
उपमहानगरपालिकाले आइतबार व्यवसायीहरुसँगको छलफलका क्रममा लकडाउन अवधीका तीन महिनाको भाडामा ५० प्रतिशत छुट दिने जनाएको हो । नगरप्रमुख नृपबहादुर वडले चैत, वैशाख र जेठ महिनाको भाडा छुट दिने निर्णय गरेको जनाए । उनले लकडाउनका कारण व्यवसाय ठप्प भएकाले उपमहानगरपालिकाले चैत ११ देखि असार १ गतेसम्मको भाडा छुट निर्णय भएको बताए ।

धनगढी उपमहानगरपालिकाले कार्यालय परिसरमा सपिङ कम्पेक्स बनाएर भाडामा लगाएको छ । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उपमहानगरपालिकाले सराहनीय निर्णय गरेको बताए । उनले अन्य सरकारी कार्यालय र संघसंस्थाहरुले पनि उपमहानगरपालिका जस्तै गरी भाडा मिनाहा गर्नुपर्ने बताए ।
यसैगरी नगर प्रमुख वडले उद्योग वाणिज्य संघ कैलाली, औषधी व्यवसायी संघ, तरकारी व्यवसायी संघ, किराना व्यवसायी संघ तथा मदिरा व्यवसायी संघका प्रतिनिधिसँग कोरोना संक्रमण रोक्ने बारेमा छलफल गरेका छन् । सरकारले लकडाउन खुकुलो बनाउँदा जोखिम बढेकाले नगरप्रमुख वडले व्यवसायीहरुलाई पसलका अगाडी डोरी, रिङ वा चुनाको रेखा राखेर ग्राहकहरुको भौतिक दुरी कायम हुने वातावरण बनाउन आग्रह गरे । दुरी कायम नहुँदा सबैतिर जोखिम बढेको उनले बताए । उनले व्यवसायीहरुलाई कडाइका साथ ग्राहकहरुबीचको दूरी कायम गराउन अनुरोध गरे ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले असार मसान्तको समयमा बजार पूर्णरुपमा लकडाउन गरेमा व्यवसायीहरु मारमा पर्ने बताए । “व्यावसायीहरुको ठूलो लगानी बजारमा हुन्छ । उठ्ने समय यही हो,” अध्यक्ष कुँवरले भने, “अहिले लकडाउन गर्नुभन्दा ग्राहकको भौतिक दूरी कायम हुने गरी कारोबार गर्ने व्यवस्था गरौं ।”
औषधी व्यवसायी संघ कैलालीका अध्यक्ष जनकराज जोशीले गोदावरी, गौरीगंगामा लगायतका ठाउँमा स्थानीय सरकार, उद्योग वाणिज्य संघले लकडाउनमा कडाई गरेको अवस्थामा धनगढीमा पनि लकडाउनमा कडाई गर्न अवश्यक रहेको सुझाव दिए ।