कारोबार संवाददाता
सोमवार, असार १५, २०७७
548

विराटनगर-उत्पादन सुरु भएको साढे तीन वर्षपछि नेपालकै सबैभन्दा बढी लगानीको गलैंचा उद्योग बन्द भएको छ । कोरोनाको प्रकोपका कारण उत्पन्न लकडाउन र मन्दीले नेपाल र भारतका बजारमा गलैंचाको माग हुन छाडेपछि उद्योग बन्द भएको हो । मोरङको बुढीगंगा गाउँपालिकामा १ सय २५ करोडको लगानीमा स्थापित हाइटेक कार्पेट इन्डस्ट्री बन्द भएको हो । यसमा एके राठी समूह र सुनिल टिवडेवालको साझेदारी छ ।
बन्द भएपछि उद्योगका स्थायी २८ कामदारले आधा तलब पाउने भएका छन्, तर अन्य अस्थायी र ज्यालादारी ८० कामदार बेरोजगार भएका छन् । हाइटेकका उत्पादन भारतका हैदरावाद, बैगलूरु, नयाँ दिल्ली, गुवाहटी र सिलिगुडीसम्म निर्यात हुन थालेका थिए। त्यस्तै नेपालका प्रमुख शहरमा पनि बिक्री भइरहेका थिए । नेपालमा घरघरमा पुगेर गलैंचा बिक्री गर्नेहरू २ हजारको संख्यामा छन् । त्यसमध्ये काठमाडौंमा मात्र ७ सय जना जति छन् र बाँकी देशका मुख्य शहरमा रहेका छन् । तर कोरोना प्रकोपका कारण २ हजार बिक्रेता नै अहिले घरमा थन्किएर बसेका छन् ।