कारोबार संवाददाता
बिहिवार, जेठ २२, २०७७
562

झापाका उद्योगी व्यवसायीले व्यवसाय सुचारु गर्न तीनदिने अल्टिमेटम दिएका छन् । झापाका उद्योगीहरुको छलफलले थप लकडाउन अस्वीकार गर्ने निर्णय गरेको हो । छलफलमा ६ बुँदे निर्णय भएको छ ।
कोरोनाका कारणबाट ७७ दिनसम्म लकडाउन हुँदा उद्योगी व्यवसायीलाई ठूलो क्षति पुगेको र सरकारबाट कुनै सहुलियत घोषणा नभएको भन्दै व्यवसायीले आपत्ति प्रकट गरेका छन् । चौतर्फी दवाब परेपछि बाध्य भएर बजार खुल्ला गर्ने निर्णय लिनु परेको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले बताए ।

महासंघका अर्का केन्द्रीय सदस्य केशवराज पाण्डेले सरकारले लकडाउनको व्यवस्थापन गर्न नसकेको बताए । जिल्लाका सबै उद्योग व्यवसाय खुल्ला गराउन संघहरु बाध्य हुने छलफलको निष्कर्ष छ । छलफलमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले व्यवसायीले सास्ती भोग्नु परेको बताए ।
छलफलमा सबै प्रकारका उद्योग कलकारखाना, बजार व्यवसाय प्रत्येक दिन विहान ८ वजेदेखि बेलुका ५ बजेसम्म खोल्ने व्यवस्था मिलाईदिन सरकारसँग माग गर्ने सहमति जुटेको छ । त्यसैगरी जेठ २३ गतेसम्म सरकार र जिल्ला प्रशासन कार्यालयले व्यापार व्यवसाय खोल्ने र अनुकुल निर्णय नगरे २४ गतेदेखि सबै व्यवसाय खुल्ला गर्न व्यवसायी सहमत भएका छन् ।
भेलाले चलचित्र घर, पार्टी प्यालेस, जिमखाना, होटल, रेष्टुरेण्ट हाललाई बन्द नै राख्ने निर्णय लिएको छ । तर, रेष्टुरेण्ट खाजाघरको हकमा अधिकतम् सुरक्षा सावधानी अपनाएर होमडलिभरी तथा अर्डर अनुसारको सेवा सञ्चालन गरिने सहमति भएको बताइएको छ । औषधि, डेरी, कृषि सामग्री, मल बीउविजन, भेटनरी, बैंक वित्तीय संस्था नियमित सञ्चालन गर्न पाउनु पर्ने माग व्यवसायीको छ ।
लकडाउन जेठ ३२ गतेसम्म थप गरिएको कारण समस्या जटिल भएको व्यवसायीको तर्क छ । सबै प्रकारका कर तथा शुल्क असार ७ गतेभित्र तिर्नु पर्ने अन्यथा थप दस्तुर, जरीवाना तथा व्याजसमेत लाग्ने सरकारले निर्देशन अव्यवहारिक भएकाले तत्काल फिर्ता लिन भेलाले माग गरेको छ । झापाका उद्योग वाणिज्य संघहरुले २०७७ वैशाख २६ गते पारित १० बुँदे माग पुनः स्मरण गराउँदै तत्काल कार्यान्वयनका लागि भेलाले अनुरोध गरेको छ । छलफलमा झापाका सबै स्थानीय तहका उद्योगवाणिज्य संघकाप्रतिनिधिको सहभागिता रहेको मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए ।