गोपाल पोखरेल
शुक्रवार, जेठ १६, २०७७
1879

उदयपुर-मुलुककै ठूलो औधोगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगले उत्पादन सुचारु गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण सरकारले लकडाउन जारी गरेपछि उद्योगको क्लिङ्कर उत्पादन बन्द भएको थियो ।
“लकडाउनपछि अवरुद्ध भएको क्लिङ्कर उत्पादन शुक्रबारबाट सुरु भएको छ” महाप्रवन्धक नवलकिशोर साहले भने, “कोरोना भाइरसका कारण ६५ दिन उत्पादन बन्द गर्नु पर्दा उद्योगलाई करिव २५ करोड रुपैयाँ घाटा भएको छ ।” लकडाउनकै अवस्था भएपनि थप घाटा हुन नदिन उद्योगलाई नियमित सञ्चालनमा ल्याइएको उनले बताए ।

क्लिङ्कर उत्पादन बन्द भएपनि उद्योगले पुरानो स्टकबाट गत वैशाख २२ गतेदेखि नै सिमेन्ट बिक्री वितरण भने गर्दै आएको थियो । उद्योगको गोदाममा रहेको स्टकबाट शुक्रबारसम्म करिव ७० हजार बोरा सिमेन्ट बिक्री गरिएको महाप्रबन्धक साहले जानकारी दिए ।
“हामीले यस अघि पनि माग अनुसार नै सिमेन्ट आपूर्ति गरिरहेका थियौं” साहले भने, “अब क्लिङ्कर उत्पादन नै हुन थालेपछि आपूर्ति व्यवस्था झन् सहज हुनेछ ।” सिमेन्टको माग बढी हुने यो समयमा कोरोनाका कारण उद्योग बन्द हुँदाको घाटा समेत पूर्ति गर्ने लक्ष्यका साथ उत्पादन कार्य अगाडि बढाइएको उनले बताए ।
नेपालमा सरकारी स्वामित्वमा दुईवटा सिमेन्ट उद्योग छन् । उदयपुर सिमेन्ट र हेटौडा सिमेन्ट उद्योगले सरकारी साख धान्दै निजी क्षेत्रका करिव ६० वटा सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्दै आएका छन् ।
नेपाली बजारमा सरकारी सिमेण्टको हिस्सा करिव ५ प्रतिशत मात्र छ । निजी क्षेत्रका १८ वटा सिमेन्ट उद्योग आफैं क्लिङकर बनाउँछन् भने करिव ४५ वटाले बाहिरबाट क्लिङकर आयात गरी सिमेन्ट तयार गर्ने गरेका छन् । नेपालमा वार्षिक ६० प्रतिशतले सिमेन्टको माग बढिरहेको उदयपुर सिमेन्ट उद्योगले प्रशासनले जनाएको छ ।