दीपेन्द्र थापा
सोमवार, जेठ १२, २०७७
3148

विदेशबाट आउने नागरिकलाई होटल क्वारेन्टाइनमा राख्न शुल्क निर्धारण भएको छ । जसअनुसार अब सरकारले प्रतिकोठा ३ हजार रुपैयाँदेखि १६ हजार रुपैयाँसम्ममा क्वारेन्टाइनमा राख्न सक्नेछ ।
होटल संघ नेपाल (हान)ले विदेश वाट फर्कने नागरिकलाई क्वारेन्टाइनमा राख्नको लागि शुल्क निर्धारण गरेर सरकारलाई बुझाएको छ । पर्यटकस्तरीय र तारे होटलहरूको छाता संगठन हानले होटलको सेवा सुविधाको आधारमा वर्गीकरण गरि मापदण्ड तोकेर सरकारलाई बुझाएको महासचिव साजन शाक्यले जानकारी दिए । विदेशबाट आउने नेपालीका लागी ३ हजार देखि १६ हजारसम्मका शुल्क तोकेको भन्दै उनले हानले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीमार्फत सरकारलाई पत्र बुझाएको बताए ।

विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९)का कारण रोजगारी गुमाएका र स्वदेश र्फिता हुन चाहने नागरिकलाई स्वदेश फर्काउन सरकारलाई दबाब बढेसँगै उनीहरु फर्किएपछि राखिने क्वारेन्टाइनको तयारी छ । सरकारले होटललाई नै क्वारेन्टाइन बनाउन प्रस्ताव गरेको थियो । सोहीअनुसार हानले सेवा सुविधाको शुल्क निर्धारण गरेर सूची बुझाएको हो । सरकारले विदेशबाट स्वदेश आउन चाहने नागरिकको व्यवस्थापनको जिम्मा कारोना रोकथाम तथा जोखिम न्यूनीकरण उच्चस्तरीय समितिलाई दिएको छ । होेटलले बस्ने व्यवस्था गर्नु पर्ने तथा खाना र अन्य सुरक्षाको व्यवस्थापन नेपाली सेनालाई दिने सरकारको तयारी छ ।
कोभिड–१९का कारण करित्र ६ देखि ८ लाख नागरिक स्वदेश फर्किने अनुमान गरिएको छ । हानले देशभर रहेका १४ च्याप्टर अन्तर्गतका ३३ सय होटलमा ५० हजार बेड उपलब्ध रहेको जनाएको छ ।
यता, कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई साना मझौला होटलमा राखिने भएको छ । स्वास्थ्यकर्मीलाई राजधानीका मझौला होटलमा राख्नको लागि सरकारसँग समन्वय भइरहेको साना होटल व्यवसायीले जनाएका छन् । तारे तथा पर्यटकस्तरीयबाहेकका अन्य होटललाई साना मझौला होटल भनिन्छ । जुन पर्यटन विभागमा दर्ता भएका हुँदैनन् ।
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ का विरामीहरूको उपचारमा प्रत्यक्ष रूपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको व्यावस्थापनसम्बन्धी मार्गनिर्देशन–२०७७ जेठ २ गते जारी गरे पछि सरकारले मझौला होटल सँगको समन्वयमा स्वास्थ्यकर्मीको व्यावस्थापन गरेको हो ।
हानले सरकारले माग गरेको बजेटमा होटल उपलब्ध गराउन नसक्ने बताए पछि स्वास्थ्यकर्मीलाई मझौला होटलमा राखिने निर्णय भएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए । उनले भने, “संकटको यो समयमा कोभिड–१९को उपचार र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई राख्नका लागि सरकारले माग गर्दा हानले सो शुल्कमा दिन नसक्ने बताएपछि सानामझौला होटलहरूको व्यावसायिक संगठन होटल व्यवसायी महासंघले भने प्रस्ताव स्वीकार गरेको छ ।”
हान मातहतका होटलमा कम दरमा स्वास्थ्यकर्मी राखेर होटलहरूले क्‍वारेन्टाइन बनाउन नदिएपछि सरकारले मझौला होटलमा राख्‍ने निर्णय भएको बोर्डले जनाएको छ । महामारीको नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई अहिले बचाउन र सहयोग गर्न सकिएन भने कोभिड–१९को विरुद्धको लडाईमा मुलुकले कसरी सफलता पाउन सक्छ भन्ने सीईओ रेग्मीले गुनासो गरे ।
सरकारले माग गरेअनुसार सामाजिक उत्तरदायित्व सम्झेर सानामझौला होटलहरूलाई क्‍वारेन्टाइन बनाउन दिने निर्णय गरिएको महासंघका अध्यक्ष हिराध्वज शाहले बताए । उनले भने, “प्रतिकोठा २ हजारका दरले महासंघ अन्र्तरगतका होटल दिने निर्णय भएको छ ।” सो रकममा एक कोठा विहानको खाजा, खाना र बेलुकाको खानासमेत बस्ने सुविधा प्रदान गर्ने र हाललाई सेवासुविधा राम्रो भएका २९ होटलको सूची सरकारलाई बुझाएको शाहले बताए । ती होटलहरू कलंकी, गोंगबु, सुन्धारा गौशाला, ठमेल, तीलगंगा, चाबहिल, बालाजु, कालीमाटी, एयरपोर्ट, नयाँबजार क्षेत्रमा रहेको र तिनमा ६१० कोठा रहेको विवरणसहितको सूची सरकारलाई बुझाइएको छ । यसका लागि सरकारले स्वाथ्य सुरक्षाको मापदण्डअनुसार काम गर्न तयार रहेको उनले बताए ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको मार्गनिर्देशनमा कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई पनि होटलमा राख्ने उल्लेख छ । स्वास्थ्यमन्त्रीका सल्लाहकार डा. खेम कार्कीले कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीबाट हुने जोखिम न्यूनीकरण गर्नको लागि १४ दिन होटलमा राखिने बताए । उनले भने, “स्वास्थ्यकर्मीहरू ७ देखि १४ दिन कार्यक्षेत्रमा खटिने छन् र १४ दिन क्वारेन्टाइनमा राखिने छन् । यसरी खटिएका स्वास्थ्यकर्मीलाई कार्यालय र खटिएका कर्मचारीको समन्यवयमा क्वारेन्टाइनमा पठाइने छ ।” आर्थिक स्रोतको व्यावस्थापन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचार कोषबाट उपलब्ध गराउने निर्देशिकामा भनिएको छ ।