मनोरञ्जन शर्मा
मंगलबार, जेठ ६, २०७७
917

भैरहवा-सरकारले विभिन्न ४२ प्रकृतिका उद्योग तथा सेवा व्यवसाय सञ्चालन गर्न अनुमति दिए पनि उद्योगहरू भने सञ्चालनमा आउन सकेका छैनन् । एक साताअघि सरकारले विभिन्न प्रकृतिका उद्योग तथा सेवामूलक व्यवसाय सञ्चालनका लागि अनुमति दिएको थियो ।
सरकारले उद्योग सञ्चालनको अनुमति दिए पनि त्यो भने सम्भव नरहेको र सञ्चालनका लागि एक दर्जनभन्दा बढीसमस्या रहेको उद्योगीहरूले बताएका छन् । अझ वैशाख ३१ गतेबाट लकडाउनमा थप कडाइ भएपछि दैनिक उपभोग्य वस्तु उत्पादन गर्दै आएका उद्योगहरूबाट उत्पादित वस्तुहरू बजारसम्म पठाउन पनि समस्या भएको उद्योगीहरूको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथत अर्घाखाँची सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले सरकारले उद्योग सञ्चालन गर्न अनुमति दिए पनि दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगवाहेक अन्य पूर्वाधार निर्माणसम्बन्धी सामग्री उत्पादन गर्ने सिमेन्ट, छड, स्टिल, पिभिसि पाइपलगायतका धेरै उद्योगहरू सञ्चालन गर्न कठिन रहेको बताए । उद्योग सञ्चालनमा प्रारम्भदेखि आवश्यक पर्ने कच्चा पदार्थ, मजदुर, प्राविधिक, उत्पादन भएका सामान बिक्री गर्ने मुख्य वितरक, बजार, सामान्य बिक्रेता, ढुवानी गर्ने साधन, उपभोक्ता आवश्यकता हुन्छन् तर अहिले चेन टुटेको छ । जबसम्म यो सबै चेन एकीकृत हुँदैनन्, धेरै उद्योग सञ्चालनमा आउन नसक्ने अग्रवाल बताउँछन् ।
तराई मधेशका अधिकांश उद्योगमा भारतका मजदुर ३० देखि ४० प्रतिशतसम्म हुने र अहिले भारतमा रहेकोले उनीहरू आउने सम्भावना रहेको छैन । भारतमा कोरोना भाइरसको संक्रमण बढदै गएकाले तत्काल भारतीय मजदुरहरू आउन सक्ने संभावना छैन भने आउन पनि चाहँदैनन । त्यसै गरी उत्पादित वस्तुहरू बजार नखुल्दासम्म पठाउन सकिने सम्भावना पनि छैन भने ढुवानीमा पनि समस्या छ । माघ फागुनमा जस्तो उद्योग सञ्चालन आउन अब कम्तिमा ६ महिना लाग्ने र लकडाउन लम्बिँदै गए उद्योग व्यबसाय धरासायी हुने निश्चित रहेको उनीहरूको भनाई छ ।
उता पछिल्लो समय लकडाउनमा कडाई हुँदा दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगहरूबाट उत्पादित सामानहरू गैरजिल्लामा पठाउन समस्या देखिन थालेको छ । बुटवल फलोर मिल्सका सञ्चालक एबं उद्योग वाणिज्य संघ बुटवलका पूर्व अध्यक्ष जीवन ओझाले उद्योगबाट उत्पादित मैदा, आटाहरू रुपन्देही बाहेकका जिल्लामा पठाउन समस्या भएको बताए । रुपन्देही जिल्लाको हकमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुमतिपत्रले ढुवानी गर्न पाइएपनि अन्य जिल्लामा त्यहाको जिल्ला प्रशासन कार्यालयबाट समेत अनुमति लिनुपर्ने भएकाले वस्तु उत्पादन गरेर मात्र नभई उत्पादित सामान पुरयाउन ढुवानीको समस्या बढदो रहेको र यो बढदै गए खाद्य संकट आउने ओझाले बताए ।
तिलोत्तमा नगरपालिका मधवलियामा रहेको सिद्धिविनायक फुड्स प्रालिका प्रबन्ध निर्देशक एबं बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले उद्योग सञ्चालन अनुमति दिए पनि अहिले दैनिक ४ देखि ६ घन्टामात्रै उद्योग सुचारु गरिएको बताए । पहिला १६ घन्टासम्म उद्योग चल्थ्यो तर अहिले मजदुर देखी ढुवानी सम्मको समस्या छ । माग भए पनि पु¥याउन सकिएको छैन । कामदारलाई उद्योगमै क्वारेन्टाईनमै जस्तै गरी राखी उनीहरूबाटै प्याकिङ लगायतका सबै काम गराइन्छ र ट्रकमा समेत लोड गर्न बाहीरी मजदुरलाई नल्याई उद्योग भित्रकै मजदुरबाट गराएकाले अहिले धेरै असहज रहेको छ र यसरी उद्योग सञ्चालन गर्न पनि कठिनाइ रहेको कसजुले भने ।
तर, अर्थविद् रामेश्वर खनाल भने यहि मौकामा देशमा रहेका नेपाली कामदार तथा विदेशबाट फर्कने नेपाली कामदारलाई तालिम दिएर स्वदेशी उद्योगमा लगाउन सकिने बताउँछन् ।
कामदारको समस्या बाहेक उद्योग सञ्चालन गर्न अनुमति दिएपछि उत्पादित सामानहरू देशैभरी ढुवानी गर्न अनुमति समेत दिनु पर्ने र यसो नगर्दा उद्योगबाट उत्पादित सामानहरू बजारमा पठाउन कठिन भएको उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर ५ का वरिष्ठ उपाध्यक्ष दिपक पौडेलले बताए ।