कारोबार संवाददाता
सोमवार, चैत्र १७, २०७६
532

संखुवासभा उद्योग वाणिज्य संघले जिल्लामा रहेका दैनिक उपभोग्य सामग्रीबारे जानकारी लिन जिल्लाका उद्योग व्यवसायी संग छलफल गरेको छ । कोरोना भाइरसका कारण देश नै लकडाउन भएका कारण केहि उपभोग्य सामग्री अभाव देखिएको भन्दै संघले स्थानीय व्ययसायिहरुसँग छलफल गरेको हो ।
अहिले लकडाउनका कारण यातायात सेवा ठप्प भएकाले उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै स्टकका बारेमा जानकारी लिइएको संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्यले बताए । उनले संकटको घडीमा सुलभ दरभाउमा उपभोक्तालाई सामग्री उपलब्ध गराउन आग्रह गर्दै संघले मुलुकलाई यो महामारीको संकटबाट जोगाउन निजी क्षेत्रको समेत महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिएको छ ।

अन्तरक्रिया कार्यक्रममा जिल्लाका डिलर तथा ब्यापारीहरुले खाद्यान्न, ग्यास, नुन, तेल लगायतका दैनीक उपभोग्य सामग्रीका बारेमा आफस्सँग रहेको स्टकका बारेमा जानकारी गराएका थिए । बितरक संघ संखुवासभाका अध्यक्ष हिमाल श्रेष्ठले जिल्लामा रहेका ठूला व्यापारीसँग निश्चित मात्र स्टक बाँकी रहेकाले प्रशासनको अनुमतिमा प्रदेश सरकारले उपभोग्य सामग्री ढुवानीमा सहयोग गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा दुर्गा खाद्यान्न स्टोर्सका पोषराज बरालले लकडाउनको समय निर्धारण गरी उपभोक्तालाई सहज ढंगबाट उपभोग्य सामग्री उपलब्ध गराउन स्थानीय प्रशासनको समेत सहयोग आवश्यक भएकोमा जोड दिए ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संघका उपाध्यक्ष डेगराज बस्नेतले उद्योगी व्यवसायीले राखेका विचार र समस्याबारे प्रशासनसँग बसेर समाधानको प्रयास गर्ने प्रतिवद्धता जनाए ।