दीपेन्द्र थापा
आइतवार, चैत्र ९, २०७६
1255

कोरोना भाइरसको संक्रमणसँगै पर्यटक आगमन घट्दा देशभरका होटल धमाधम बन्द हुन थालेका छन् । अकुपेन्सी घट्दै गएको भन्दै राजधानीका तारे होटलहरूले धमाधम सेवा बन्द गर्न थालेका हुन् ।
काठमाडौंको दरबारमागस्थित होटल याक एण्ड यतिले शनिबार सूचना टाँस गरेर अनिश्चितकालीन रूपमा होटल बन्द गर्ने जनाएको छ । यस्तै, काठमाडौंको बौद्धस्थित होटल हायात पनि बन्द गर्न तयार भएको छ । तर, यसका लागि व्यवस्थापन र आधिकारिक ट्रेड युनियनबीचको छलफल जारी छ । शनिबारदेखि तत्कालका लागि बन्द गर्ने योजना थियो । यसैगरी, सोल्टी होटलले पनि सञ्चित बिदा हुनेलाई बिदा कटाएर र बाँकी बिदा नहुनेलाई अग्रिम बिदा दिएर भने पनि कुनै पनि सेवा सुविधा कट्टी नगर्नेगरी बिदामा पठाएको छ ।

यस्तै, बत्तिसपुतलीस्थित होटल द्वारिकाजले पनि आफ्नो सेवा बन्द गरेको जनाएको छ भने मेरियट ग्लोबलले नेपालको मेरियटलाई बन्द गर्न सुझाव दिइसकेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण पर्यटन आगमनमा गिरावट आएपछि होटलहरूले सूचना जारी गर्दै केही समयको लागि भन्दै बन्द गरेका हुन् । होटल -याडिसन पनि बन्द गर्ने पक्षमा रहेको व्यवस्थापनले जनाएको छ । कुनै होटलले कर्मचारीलाई बेतलबी विदा दिएका छन् भने कुनैले तलबी बिदा दिँदै अनिश्चित समयको लागि पाँचतारे होटलहरू बन्द भएका हुन् ।
साथै, काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका होटलहरू पनि क्रमिक रूपमा बन्द भइरहेका छन् । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि होटलहरूले कर्मचारीलाई बिदामा घर पठाउन थालेका हुन् । यसैबीच, साना तथा मझौला होटल व्यवसायीहरूले सरकारलाई आवश्यक परे आफ्नो होटल क्वारेन्टाइन बनाउन दिने प्रतिवद्धता जनाएका छन् ।
सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जनस्थल लगायतलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको अवस्थामा होटलहरू बन्द गर्नु बाध्यता रहेको पर्यटन व्यवसायीको भनाइ छ ।