कारोबार संवाददाता
बिहिवार, फाल्गुन १५, २०७६
483

नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णुकुमार अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा मनोनीत भएका छन् । नेपाल उद्योग परिसंघको गभर्निङ काउन्सिल र पदाधिकारी समितिको हालै सम्पन्न बैठकले परिसंघको विधानको व्यवस्थाअनुसार उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको हो । वरिष्ठ उपाध्यक्षमा मनोनीत विष्णुकुमार अग्रवाल परिसंघको उपाध्यक्षमा कार्यरत छन् ।
परिसंघमा विगत डेढ दशकदेखि राष्ट्रिय परिषद्को सदस्यका साथै विभिन्न समितिको संयोजकका रूपमा सेवा गर्दै आएका छन् । परिसंघको विगत १३ औं वार्षिक साधारणसभापछि उपाध्यक्ष पदमा निर्वाचित उनी नेपालको विभिन्न उद्योग, बैंक तथा वित्तीय संस्थाका साथै अटो व्यवसायसँग आबद्ध छन् ।
परिसंघसँग आबद्ध सीएनआई वाइइएफको संस्थापक समेत रहेका अग्रवाल परिसंघबाट विगत वर्षहरूमा आयोजित तीनवटा पूर्वाधार सम्मेलनहरूको सफल आयोजना गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन् । स्मरणीय छ, परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा परिसंघको स्वतः अध्यक्ष हुने प्रावधान छ ।