कारोबार संवाददाता
बिहिवार, फाल्गुन १५, २०७६
316

धनकुटा उद्योग वाणिज्य संघको कार्यालयमा लागेको ताला खुलेको छ । सदस्यता वितरण र नवीकरणका विषयमा विवाद चर्केपछि उद्योग वाणिज्य संघ धनकुटामा गरिएको दोहोरो तालाबन्दी बुधबारबाट खुलेको छ । सहमतिमै नयाँ नेतृत्वचयन गर्ने सहमति भएपछि ८० दिनपछि कार्यालयको मूलढोकामा गरिएको ताला खोली दैनिक कामकाज सुचारु गरिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले जानकारी दिए ।
नयाँ नेतृत्व चयनका लागि बन्दसत्र सकेर निर्वाचन कार्यतालिका समेत सार्वजनिक भएपछि नयाँ सदस्यता र नवीकरणको माग गर्दै नेकपा पक्षधर केही व्यवसायीले गएको मंसिर २४ गते धनकुटाको सल्लेरीमा रहेको उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरेका थिए । नेकपा पक्षधर व्यवसायीको तालाबन्दीपछि मंसिर २८ गतेका लागि तोकिएको मतदान प्रक्रिया रोकिएको थियो । निर्वाचन प्रक्रिया छिटो टुंग्याउनुपर्ने भन्दै लोकतान्त्रिक पक्षधर व्यवसायीले कार्यालयको मूलढोकामा मंसिर ३० गते अर्को ताल्चा लगाए पछि विवाद झनै लम्बिएको थियो ।
ताला खुलेसँगै निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । मंसिर २३ गते भएको महासंघको साधारणसभामा आफ्ना माग राख्दा राख्दै बन्द सत्र सुरु गरिएको र नयाँ व्यवसायी र नवीकरण गर्न छुटेका व्यवसायीलाई संगठित हुने अवसरबाट बञ्चित गरिएको भन्दै उद्योग वाणिज्य संघ धनकुटाको कार्यलयमा ताला लगाइएको थियो ।
८० दिनपछि बुधबार ताला खुलेसँंगै निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन आयुतm विकास प्रधानले दिए । फागुन १५ गते मतदाता नामावली प्रकाशन भएसँगै फागुन २४ गते शनिबार मतदान कार्यक्रम निर्धारण गरिएको प्रधानको जानकारी बताए ।

 

विकास घिमिरे