कारोबार संवाददाता
बिहिवार, फाल्गुन १५, २०७६
373

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उद्यमी चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ‘समृद्धिको आधारः राज्य–निजी क्षेत्र साझेदार’ नारासहित उनले उम्मेदवारी घोषणा गरेका हुन् । महासंघको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने वैधानिक व्यवस्थाअनुसार ढकालले २०७९ चैतमा हुने साधारणसभापछिको नेतृत्वका लागि दाबी गरेका छन् । आउँदो चैत अन्तिम साता हुने साधारणसभामा उनी अर्का उपाध्यक्ष किशोर प्रधानसँगै चुनावी मैदानमा हुनेछन् ।
महासंघको एसोसिएट उपाध्यक्ष रहेका ढकालले बुधबार आयोजित कार्यक्रममा आगामी चैतमा हुने महासंघको ५४ औं साधारणसभामा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । ढकालको उम्मेदवारी घोषणामा पूर्वअध्यक्षद्वय चण्डिराज ढकाल र सुरज वैद्य तथा प्रतिष्ठित उद्यमी व्यवसायी सहभागी थिए । समारोहमा ढकाललाई वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले माला लगाएर शुभकामना दिएका थिए भने शशिकान्त अग्रवाल, कृष्णप्रसाद ताम्राकार, ज्योत्सना श्रेष्ठ, दिनेश श्रेष्ठलगायत विभिन्न जिल्लानगर, वस्तुगत एवं एसोसियट सदस्य तथा व्यवसायीहरूले शुभकामना दिएका थिए । ढकाललाई वर्तमान अध्यक्ष भवानी राणाको पनि साथ छ भने उनलाई शुभकामना दिन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, साहिल अग्रवाल, ओम राजभण्डारी, रोहिणी थपलिया, अखिलकुमार चापागार्इंँसहित ठूलो संख्यामा व्यवसायी उपस्थित थिए ।
ढकालको उम्मेदवारी घोषणासभामा विभिन्न ६० जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष उपस्थित थिए । समारोहमा उनले आफू सबैजना उद्योगी व्यवसायी साथीहरूको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । “तपाइँहरूको मनोबल सधैं उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरूको सुख दुःखमा साथमा रहने प्रण गर्छु,” कार्यक्रमका उनले भने । उनले राज्य–निजी क्षेत्रबीचको सहकार्यले मात्र देशमा समृद्धि ल्याउन सहयोग पुग्ने बताउँदै त्यसका लागि आफूले पहल गर्ने बताए । निजी क्षेत्रका समस्या समाधान गर्न, महासंघ र महासंघको सचिवालयलाई अझ बलियो र सबल बनाउन आफू अब आउने अध्यक्षसँग काँधमाकाँध मिलाएर अगाडि बढ्ने प्रतिबद्धता ढकालले जनाए ।
“महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार, सरकार र उद्यमीहरूको साझा प्रयासबाट महासंघलाई अघि बढाइनेछ । जिल्ला नगर तथा वस्तुगत उद्योग वाणिज्य संघहरूलाई आगामी दिनमा थप सशक्त बनाउने मेरो प्राथमिकताको अर्को विषय हो,” उनले भने, “हामी निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राका दरिलो खम्बा पनि हौं । राज्यले घोषणा गरेको तीन खम्बे अर्थतन्त्रको एक दरिलो खम्बा । देशको अर्थतन्त्रमा अहिले पनि निजी क्षेत्रको योगदान ७५ प्रतिशत हाराहारी छ । तर, पनि सरकारले अघि सारेको समृद्धिको यात्रामा सफल सारथीका रुपमा रहने निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार अभिभावकको भूमिका पाउन सकिरहेको छैन ।”
नेपालमा लामो समयपछि देखिएको राजनीतिक स्थायित्वसँगै लगानीको वातावरण पनि बन्दै गएको उनको भनाइ छ । आफू कार्यक्रमका लागि विभिन्न ठाउँमा पुग्दा त्यहाँका प्रदेश सरकारका मुख्यमन्त्री एवं मन्त्रीहरूले आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आग्रह गरेको स्मरण गर्दै यसलाई लगानीको अवसरका रुपमा लिनुपर्ने उनको भनाइ छ । सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई नीति नियम र कानुनमा राम्रैसँग स्वीकार गरेको तर नेतृत्वमा यो सकारात्मक सोच देखिए जसरी राज्य संयन्त्रभित्र भने अझै कार्यान्वयनमा समस्या रहेको उनले बताए ।
“राज्य भनेको हाम्रो अभिभावक हो र यसले हामीलाई सहजीकरण गरिदिनुपर्छ । हामीले राज्यसँग आवश्यक वातावरणका लागि पहल गर्नुपर्छ र आवश्यक परे संघर्ष गरेर पनि लिनुपर्छ,” उनले भने, “निजी क्षेत्र आर्थिक विकास र रोजगारी सृजनाको बलियो इन्जिन हो । नागरिकलाई वस्तु तथा सेवा प्रदान गर्न र राजस्वमार्फत राज्यको आम्दानी वृद्धि गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ ।”

को हुन् ढकाल ?
बागलुङको अमलाचौरमा वि.सं. २०२२ मा जन्मिएका ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति हुन् । उनले यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भई काम गरेका छन् भने ढकाल आईएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्सका अध्यक्ष तथा डिसहोम मिडिया प्रालिका प्रवद्र्धक हुन् । कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत्, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एन्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जनभन्दा बढी व्यवसायमा लगानी छ । ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिका उपाध्यक्ष हुन् । नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत रहेका ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य पनि हुन् ।