कारोबार संवाददाता
बुधवार, फाल्गुन १४, २०७६
407

अपि पावर कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया निर्माणका लागि हकप्रद सेयर जारी गरेको छ । विद्युत् नियमन आयोगको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले माथिल्लो चमेलियानिर्माणको लागि १ बराबर २ को हकप्रदजारी गर्न स्वीकृति दिएको हो । हक प्रदजारी गर्ने निर्णय अनुरूप कम्पनीलाई प्रथम चरणमा ५६ लाख ७० हजार कित्ताबापत ५६ करोड ७० लाख रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने स्वीकृती दिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, हकप्रद हाल कम्पनीको कायम चुक्तापुँजी ११९.०७ करोडको १ बराबर ०.४७ कायम भएको छ भने कम्पनी यस हकप्रद जारी गरी आगामी आर्थिक वर्षको सुरुवातमा ४० मेगावाटको माथिल्लो चमेलिया निर्माणको प्रगति विवरणसहित पुनः दोस्रो पटक हकप्रद जारीको लागि बोर्डसमक्ष निवेदन पेस गर्ने भएको पनि कम्पनीले जनाएको छ । दोस्रो चरणको हकप्रद निष्कासनका लागि समेत कम्पनीले विद्युत् नियमन आयोगबाट स्वीकृति प्राप्त गरिसकेको छ ।

८.५ मेगावाटको नौगड गाढ आयोजना २०७२ भदौदेखि सञ्चालन गरी विद्युत् बिक्री गरिरहेको र ८ मेगावाटको माथिल्लो नौगड गाढ आयोजना २०७६ कात्तिकबाट सञ्चालन गरी थप विद्युत् बिक्री गरिरहेको कम्पनीले जनाएको छ । आयोजनाको वित्तीय व्यवस्थापनको कार्य अन्तिम रूपमा रहेको र उक्त आयोजनाको निर्माण अबको ३० महिनाभित्र सम्पन्न गर्ने कम्पनी काकार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले जानकारी दिए ।
उनका अनुसार, कम्पनीले विगत ३ वर्षदेखि नियमित लाभांश वितरण गरिरहेको छ । कम्पनीले हकप्रद निष्कासनको प्रक्रियामा रहेकाले यस आर्थिक वर्षको साधारणसभा ढिला भएको र चालू वर्षको चैत महिनाभित्र लाभांशसहितको साधारणसभा गरिने कम्पनीका कार्यकारी सञ्चालक न्यौपानेले जनाए ।