कारोबार संवाददाता
मंगलबार, फाल्गुन १३, २०७६
362

धनगढी- सुदूरपश्चिम प्रदेशको मौलिक तथा स्थानीय खानाको प्रबद्र्धन गर्न आयोजना हुने सुदूरपश्चिम खाना महोत्सवको तयारी पूरा भएको छ ।
होटल व्यवसायी संघ कैलालीले सोमबार पत्रकार सम्मेलन गरी बुधबार (भोलि) देखि आयोजना हुने सो महोत्सव तयारी पूरा भएको जनाएको हो । संघका अध्यक्ष कलम बमले ९ जिल्लाको प्रतिनिधित्व गर्ने गरी नौवटा दियो पञ्चकन्याद्वारा बाल्न लगाएर महोत्सव उद्घाटन गर्ने तयारी भएको जनाए ।

उनले प्रदेशका सबै ९ जिल्लाकै प्रतिनिधि हुने गरी नौवटा बेलुनको गुच्छा उडाउनुका साथै नरसिंह बजाएर महोत्सव उद्घाटन गरिने बताए । महोत्सवमा नौवटै जिल्लामा अत्यधिक उत्पादन हुने मकै, कोदो, बेथे, फापर, जौंका परिकारहरु र प्रदेशमा रहेका विभिन्न जातजातिहरुको खानाहरु महोत्सवका मुख्यका रूपमा रहने जनाए ।
संघले महोत्सवमा २८ वटा खानाका र नौवटा अन्य वस्तुको स्टल रहने जनाएको छ । महोत्सव स्टल प्रवेश निःशुल्क गरिएको र स्टलसमेत निःशुल्क गरिएको संघका महासचिव केशवदत्त पाण्डेयले बताए । उनले महोत्सव स्थल भने अनुगमन तथा मूल्यांकन समितिले तोकेबमोजिमको मापदण्ड पूरा गरेको हुनुपर्ने बताए ।
आयोजक संघले सोमबार नै स्टल राख्ने व्यवसायीहरुलाई मापदण्ड र सुदूरपश्चिमका खानाका बारेमा प्रशिक्षणसमेत दिएको छ । महासविच पाण्डेयले सरसफाइ र गुणस्तरलाई समेत ध्यानमा राखेर मापदण्ड तयार गरिएको बताए ।
‘मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना, पर्यटन प्रबद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ आयोजना हुने खाना महोत्सवको समयमा विश्व नेपाली साहित्य सम्मेलन पनि खुलामञ्चमा आयोजना हुने भएको छ ।
संघका अध्यक्ष बमले महोत्सवमा प्रदेशको स्थानीय उत्पादन प्रयोग गरी बनाएर खानाको परिकारलाई प्राथमिकता दिइएकाले प्रदेश बाहिर र विदेशमा समेत ती उत्पादनहरुको माग बढ्ने र स्थानीय उत्पादन निर्यातमा समेत सहयोग पुग्ने विश्वासले महोत्सव आयोजना गर्ने तयारी गरेको बताए । उनले महोत्सवमा राखिएका स्टलहरुबाट सुदूरपश्चिमको मौलिक परम्परा, भेषभूषा, संस्कार र संस्कृति झल्किने बताए । उनले त्यसबाट आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्ने बताए ।
संघले ग्लोबल नेप्जिल सेफ फेडेरेशनका केन्द्रीय अध्यक्ष लक्ष्मण भण्डारी टोली धनगढीमा आएर सुदूरपश्चिमको खानाहरुबारे अध्ययन थालेको जनाएको छ । संघका अध्यक्ष बमका अनुसार भण्डारीले सुदूरपश्चिमको हालसम्मकै ठूलो भक्के रोटी, सिंगै खसीको वार विक्यु र एक हजार लिटरको भाँडोमा फाँडो पकाउने तयारी गरेका छन् ।