कारोबार संवाददाता
बुधवार, फाल्गुन ७, २०७६
545

थाहा होटल एसोसिएसनले मकवानपुरको दामनमा रहेको एभरेस्ट पानारोमा रिसोर्टको सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ । एसोसिएसनले गरेको छानबिनबाट रिसोर्टको कुनै कमीकमजोरी नदखिएको भन्दै संञ्चालन गर्न पाउनु पर्ने माग गर्दै रिसोर्ट निलम्बन गर्नु व्यावहारिक नभएको बताएका छन् ।
हेलिप्याडसहित सबै किसिमको सेवा सुविधासम्पन्न रिसोर्टलाई समेत निलम्बन गर्नु व्यावहारिक नभएको र कर्मचारीले रोक्न खोज्दा पाहुनाले जबर्जस्ती हिटर लगेको एसोसिएसनले भनेको छ ।

एक महिनाअघि रिसोर्टमा ८ जना भारतीय पर्यटकहरूको निधन भएसँगै पर्यटन विभागले तीन महिनाका लागि रिसोर्ट निलम्बन गर्ने बन्द गर्ने निर्णय गरेको थियो । विभागबाट गठित समितिले रिसोर्ट व्यवस्थापनले सुधार गर्नु पर्ने सुझाउँदै ३ महिना निलम्बन गरेको थियो । यता थाहा होटल एसोसिएसनले रिसोर्टको कुनै गल्ती नभएको भन्दै पर्यटकको निधन भएपछि होटल एसोसिएसनले पनि छानबिन गरेको जनाएको छ । होटल व्यवस्थापनले उपलब्ध गराएको कागजातको आधारमा सो मृत्यु प्रकरणमा व्यवस्थापन पक्ष दोषी नभेटिएको थाहा होटल एसोसिएसनका अध्यक्ष शिवकुमार खत्रीले जारी गरेको पत्रमा भनिएको छ ।
नेपाल भ्रमण वर्षको मुखमा रिसोर्ट बन्द गर्दा रिसोर्ट व्यवस्थापन पक्ष र सरकारलाई समेत क्षति पुग्ने भन्दै रिसोर्ट सञ्चालन गर्न दिनुपर्ने संघले माग गरेको छ । नेपाल भ्रमण वर्ष–२०२० चलिरहँदा रिसोर्टमाथि भएको कारबाहीले अग्रिम बुकिङ प्रभावित हुने भएकाले रिसोर्टमाथि लागेको बन्देज हटाउन व्यवसायीले माग गरेका छन् ।थाहा होटल एसोसिएसनले पर्यटन विभागलाई बुधबार एक पत्र लेख्दै बाँकी बुकिङका लागि तोकेको मापदण्ड पूरा गर्न कुनै समय बन्देज नतोकि दिन आग्रहसमेत गरेको छ ।