कारोबार संवाददाता
आइतवार, फाल्गुन ४, २०७६
626

धनगढी-होटल व्यवसायी संघ कैलालीले धनगढीमा सुदूरपश्चिमका खानाका परिकारहरूको प्रबद्र्धन गर्न ‘सुदूरपश्चिम खाना महोत्सव’ गर्ने भएको छ । संघले फागुन १४ गतेदेखि २० गतेसम्म सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको विश्व नेपाली साहित्य महोत्सवसँग सहकार्य गरेर खाना महोत्सव गर्ने जनाएको हो । संघका अध्यक्ष कलम बमले खाना महोत्सव धनगढी खुलामञ्चमा हुने बताए ।
उनले खाना महोत्सवमा २५ स्टल रहने जनाउँदै सो स्टलहरूमा सुदूरपश्चिमका विभिन्न समुदायले परम्परागत रुपमा खाँदै आएका स्वास्थ्यबद्र्धक खानाहरूको परिकार प्रदर्शनी गर्नुका साथै बिक्री गरिने बताए । उनले महोत्सवमा एक हजार लिटरको भाडामा फाणो पकाउने तयारी रहेको बताए ।

सोही अवधीमा हुने विश्व नेपाली साहित्य महोत्सवको तयारीसमेत तीव्र पारिएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको सप्ताहव्यापी विश्व नेपाली साहित्य महोत्सवमा संसारभरका नेपाली साहित्यकारको सहभागिता रहनेछ ।
समाजका अध्यक्ष रामलाल जोशीले सुदूरपश्चिमको कला र संस्कृतिका बारेमा जानकारी गराउन अन्य ठाउँको कला र संस्कृतिबारे जानकारी लिन महोत्सवको आयोजना गर्न लागेको बताए । उनले महोत्सवमा देशका दुई सय बढी साहित्यकारको सहभागिता रहने बताए । उनले भारतको सिलगुडी, दार्जिलिङ, सिक्किम, असाम, मेघालय, मणिपुर तथा भुटान, बर्मा, अमेरिका, बंगलादेश लगायतका देशबाट साहित्यकार आउने बताए ।
विश्वभरका साहित्यकारहरूको जमघट भएको बेला आयोजना हुने खाना महोत्सवले सुदूरपश्चिम प्रदेशमा पर्यटक भित्र्याउन मद्दत पुग्ने विश्वास गरिएको संघका अध्यक्ष बमले बताए । उनले साहित्य सम्मेलन र खाना महोत्सवले सुदूरपश्चिम प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत सहयोग गर्ने बताए ।