मीनकुमार नवोदित
आइतवार, फाल्गुन ४, २०७६
600

खाद्यन्न र कपडाका स्टलमा दर्शकको भीड

विराटनगर-शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको विराट एक्स्पोमा जुम्लाको स्याउदेखि इलामको ललीपपसम्म राखिएको छ ।
मेलालाई विविधता दिन पहाड, हिमाल र तराईका आन्तरिक उत्पादनसँगै अन्तर्राष्ट्रिय उत्पादनलाई पनि राखिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेको एक्स्पोमा खाद्यन्नसँगै लत्ताकपडाका स्टलमा दर्शकको बढी भीड देखिन्छ ।
एक्स्पोमा जुम्लाको स्याउ, मार्सी चामल, हिमाली उत्पादन, पोखराको पाउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, सप्तरीको पेडा, झापाको सुपारीका टपरी, इलामको ललिपप, भोजपुरको खुकुरीलगायतका आन्तरिक उत्पादन राखिएका छन् । “जुन उत्पादनले जिल्लाको ब्राण्ड बनेका छन् ती उत्पादन विराट एक्स्पोमा पाउन सकिन्छ,” आयोजक उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने, “उत्पादनका हिसाबले दर्शक र उपभोक्ताले एक्स्पोमा सिंगो नेपाल पाउनुहुनेछ ।”
‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ आयोजना गरेको प्रदर्शनी मेलाको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गरे । कार्यक्रममा अर्थमन्त्री खतिवडाले मुलुकमा लगानीको वातावरण बन्दै गएको बताए । यस क्षेत्रलाई औद्योगिक क्षेत्रको रूपमा विकास गर्न विराटनगर जुट मिलको सन्दर्भले मात्र नपुग्ने बताएका अर्थमन्त्री खतिवडाले उद्योग व्यवसायको प्राकृतिक चक्रलाई सबैले बुझ्नु आवश्यक रहेका प्रस्टाए । जुट उत्पादन बढाउने उद्योगलाई सरकारले संरक्षण गर्ने बताए । “यससँगै अब हामी नयाँ व्यवसायमा केन्द्रित हुन आवश्यक छ । जसले औद्योगीकरणको नयाँ स्वरूप कोर्नेछ ।”
क्रस बोर्डर आर्थिक क्षेत्र बनाउँदै गरेको बताउँदै उनले त्यसलाई आधार बनाएर यहाँको औद्योगीकरणको बाँकी प्रक्रिया बढाउनेमा जोड दिए । सोही क्रममा विराटनगरको विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको हब बनाउन सकिने सन्दर्भमा सरकारले आर्थिक पक्षमा समस्या आउन नदिने मन्त्री खतिवडाले बताए ।
यसअघि, उद्योग राज्यमन्त्री मोतीलाल दुगडले सरकारले उद्योगीलाई ज्वाइँ समान व्यवहार गर्ने गरेको बताए । कार्यक्रममा उद्योगीलाई उत्साहित बनाउँदै गर्दा राज्यमन्त्री दुगडले विगतभन्दा हाल सरकारले उद्योगी व्यवसायीलाई ज्वाइँ समान सम्मान र व्यवहार गर्दै आएको दाबी गरे ।
प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले महानगरले जग्गा उपलब्ध गराएको खण्डमा प्रदेश सरकार बजेट लगानीमा प्रदर्शनीस्थल निर्माण गर्ने बताए ।
कार्यक्रममा प्रदर्शनीका संयोजक भोलेश्वर दुलालले प्रदेश राजधानीमा समेत औद्योगिक केन्द्रको अभावमा रहेको गुनासो गरे । प्रदर्शनीमा नेपालको स्वदेशी उत्पादनसँगै भारत, पाकिस्तान, भुटान, बंगलादेशलगायतका सरसमान प्रदर्शनीमा राखिएको उनले जानकारी दिए । प्रदर्शनीको उद्घाटनका क्रममा प्रदर्शनीका संयोजक भोलेश्वर दुलाल र स्टल व्यवस्थापनका विपीन कारबलाई अर्थमन्त्री युवराज खतिवडाले सम्मानपत्रका साथ सम्मान गरेका थिए ।
हेलिकोप्टरबाट विराटनगर अवलोकन, पाथीभरा दर्शन, हात्तीको सवारीलगायत विभिन्न मनोरञ्जनको व्यवस्था गरिएको छ । यस्तै राष्ट्रिय र स्थानीयस्तरका कलाकारको सांगीतिक प्रस्तुति, फेसन शो, सेल्फी जोनलगायतका विभिन्न आकर्षण पनि एक्स्पोमा समावेश गरिएको छ । नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला फागुन १० गतेसम्म सञ्चालन हुनेछ । मेलामा दैनिक उपभोग्य वस्तु, कृषिजन्य उत्पादन, लत्ताकपडा तथा मनोरञ्जनका सामग्री, खानाका स्टल प्रदर्शनीका लागि राखिएको छ । एक्स्पोमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० रूपैयाँ र विद्यार्थीलाई २५ रूपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । ३ सय ४० वटा स्टल एक्स्पोमा छ । एक्स्पोमा १ अर्बको कारोबार हुने लक्ष्य राखिएको छ । जसमा २ करोड खर्च गरेर २ करोड नै नाफा कमाउने लक्ष्य राखिएको घिमिरेले बताए ।