कारोबार संवाददाता
आइतवार, फाल्गुन ४, २०७६
432

रुपन्देही-सिद्धार्थ उद्योग वाणिज्य संघले स्थलमार्गको बेलहिया नाका हुँदै तेस्रो मुलुक तथा भारततर्फ सामानहरु निकासी गर्ने रुपन्देहीका २ उद्योगहरुलाई सम्मान गरेको छ । संघको ६१ औं वार्षिक साधारणसभाका अवसरमा शनिबार भैरहवामा आयोजित समारोहमा उनीहरुलाई तेस्रो मुलुक र भारतमा यहाँका वस्तु तथा उत्पादन निकासी गरी व्यापार घाटा सन्तुलनमा ल्याउन सहयोग गरेको भन्दै सम्मान गरेको हो ।
सम्मानित हुने उद्योगहरुमा तेस्रो मुलुकतर्फ निर्यात गर्नेमा सिद्धार्थ आधुनिक दाल उद्योग तथा भारततर्फ निर्यात गर्नेमा जगदम्बा स्वीनिङ मिल्स रहेका छन् ।

दुवै उद्योगले लामो समयदेखि तेस्रो मुलुक र भारतमा निकासी गर्दै आएका छन् । सिद्धार्थ आधुनिक दाल उद्योगका सञ्चालक तथा संघका सल्लाहकार समेत रहेका ऋषिकेश अग्रवाल तथा जगदम्बामा सञ्चालक अनिल जाटीयालाई प्रदेश ५ रुपन्देही क्षेत्र ३ का प्रदेशसभा सदस्य सन्तोष पाण्डे, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने सम्मान गरेका थिए ।
कार्यक्रम प्रदेश सांसद सन्तोष पान्डेले इतिहास बोकेको सिद्धार्थनगर यस क्षेत्रको व्यवसायी उद्योगीहरुको साझा संस्था भएको भन्दै व्यवसायीहरुलाई परेको समस्या समाधानका लागि सहयोग गर्न उपस्थित रहने बताए ।
उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले पछिल्लो समय उद्योगी व्यवसायीको समस्या हल गर्ने व्यावसायिक संस्थाको जिम्मेवारी बहन गर्ने क्रममा केही पछि परेको हो की भन्ने भान हुन थालेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले विगतको करिव १५ वर्षको अस्थिर र द्वन्द्वको अवस्थाबाट जर्जर भएको मुलुकका लागि स्थायी र ठोष नीति बनाएर अघि बढ्नुको विकल्प नरहेको बताए । सरकार गठन पछि मुलुकमा समृद्धिको चर्चा चुलिएको भन्दै यसले निजी क्षेत्र उत्साहित भए पनि सरकार गठनपछिको यो अवधिमा पनि मुलुकको अर्थतन्त्रमा अपेक्षाकृत सुधार नभएको बताए ।