कारोबार संवाददाता
आइतवार, माघ १२, २०७६
264

वीरगन्जमा दोस्रो प्रदेशस्तरीय क्यान–इन्फोटेक मेलाको बिहीबार उद्घाटन भएको छ । नेपालमा सूचना प्रविधि विकास, प्रवद्र्धनका पछिल्लो दुई दशकभन्दा बढी समयदेखि काम गर्दै आएको आईटी व्यवसायीहरूको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)पर्सा र प्रदेश–२ समितिले यो आईटी मेला आयोजन गरेका हुन् ।
माघ १३ गतेसम्म क्यान–इन्फोटेक मेला–२०२० वीरगन्जको नगर सभागृहमा सुरु भएको हो । पूर्वराष्ट्रपति डा. रामवरण यादवले बिहीबार एक कार्यक्रमबीच मेलाको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले वर्तमान युग सूचना प्रविधिको भएको भन्दै विकासका लागि आजको युगमा यो अनिवार्य सरह भएको बताए । सूचना प्रविधिको विकास, प्रवद्र्धन र सुधारका लागि क्यानले पछिल्लो समयमा सराहनीय काम गरिरहेको बताए । सूचना प्रविधिसँगै केही विकृतिसमेत भित्रिएकाले यस प्रतिसचेत हुन आवश्यक रहेको उनले बताए ।
।आईटी क्षेत्रमा सक्रिय रहेकाहरूले यसको न्यूनीकरण गर्न अग्रसर हुनुपर्ने उनले सुझावसमेत दिए । आर्थिक तथा व्यापारिक नगरी वीरगन्जमा र प्रदेश–२ मा प्रविधिमैत्री वातारण सिर्जना गर्नका लागि क्यानले दोस्रो पटक यहाँ प्रदेशस्तरीय आईटी मेला गर्न लागेको आयोजक क्यान–इन्फोटेक महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले बताए । २७ वर्ष अगाडि स्थापित क्यानलाई पछिल्लो मुलुकको संरचनाअनुसार हरेक जिल्ला र तहसम्म विस्तार गरी सूचना प्रविधिमा सहयोग गर्ने र उपलब्धि हासिल गराउनेतर्फ क्यान अगाडि बढेको उद्घाटन समारोहमा बोल्दै कुँवरले दाबी गरे ।
सूचना प्रविधि क्षेत्रमाकाम गर्नेहरूका लागि नेपालमा कुम्भ मेला भनिने ‘क्यान–इन्फोटेक’ वीरगन्जमा आयोजित मेलामा यसपटक आईटीसँग सम्बन्धित विभिन्न ६० वटा स्टल राखिएको क्यान पर्साका अध्यक्ष दिपक साहले बताए । प्रभु पे मुख्य प्रायोजक रहेको क्यान–इन्फोटेक–२०२० वीरगन्जमा विभिन्न छुट र आफरहरूको समेत व्यवस्था गरिएको छ ।
मेलाको मुख्य आकर्षणमा रोबोट प्रतियोगिता, आईटी म्युजियम, आईसिटी छात्रवृत्ति, छुट दरमा विभिन्न उपकरणलगयात छन् । पाँच दिनसम्म चल्ने क्यान–इन्फोटेक–२०२० वीरगन्जमा हरेक दिन फरक विषयमा जानकारीमूलक कार्यशाला र अन्तरक्रियासमेत आयोजन हुने क्यान पर्साका अध्यक्ष साहले बताए । इन्फोटेक मेलामा आईसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, ई–वेष्ट म्यानेजमेन्ट, वाइफाइ, इन्टरनेट र लर्निङ सेन्टरर रोजगार केन्द्र मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएका छन् ।