कारोबार संवाददाता
बुधवार, माघ ८, २०७६
305

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् । मुलुकका वाणिज्य बैंकहरू, विकास बैंकहरू र वित्तीय संस्थाहरूको छाता संगठन– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको भर्खरै सम्पन्न कार्यसमितिको बैठकले तिवारीलाई ४ वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको हो । नेपालस्थित अन्तर्राष्ट्रिय वित्त निगम तथा विश्व बैंक जस्ता संस्थाहरूमा काम गरिसक्नुभएका तिवारीसँग विभिन्न वैदेशिक दातृ निकायहरू, सार्वजनिक एवं निजी क्षेत्र र सञ्चार क्षेत्रको लामो अनुभव छ ।
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० श्रीचौरमा जन्मनुभएका तिवारी केही समय अघिसम्म नेपाल सरकार, दातृ निकाय तथा निजी क्षेत्रद्वारा प्रवद्र्धित एवम् सार्वजनिक–निजी संवाद प्रतिष्ठानको रुपमा रहेको नेपाल व्यवसाय मञ्चमा वरिष्ठ परामर्शदाता थिए । उहाँले पछिल्लोपटक नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशक भई कार्यभार सम्हालेका थिए ।