कारोबार संवाददाता
मंगलबार, माघ ७, २०७६
535

नेपाल आयल निगमले ‘ए’ डिभिजन क्लब मनाङ–मस्र्याङ्दीलाई प्रायोजन गरेको छ । सोमबार आयोजित कार्यक्रममा मनाङ र आयल निगमबीच सम्झौता भएको हो ।
सम्झौतामा नेपाल आयल निगमका कार्यकारी प्रमुख सुरेन्द्रकुमार पौडेल र मनाङ–मस्र्याङ्दी क्लबका अध्यक्ष छिम्मी उर्गेन गुरुङले हस्ताक्षर गरेका हुन् ।

निगमको ५० औं वर्षको अवसरमा कार्यकारी निर्देशकले खेलकुदमा प्रायोजन गर्ने घोषणा गरेका थिए । सामाजिक उत्तरदायित्वअन्तर्गत मनाङलाई प्रायोजन गरेको निगमले जानकारी दिएको छ ।
मनाङ र आयल निगमबीच एक वर्षको सम्झौता भएको हो । अब क्लबको नाम नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लब हुनेछ । यसका लागि निगमसँग ३५ लाखको सम्झौता भएको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले मनाङ–मस्र्याङ्दी क्लबलाई प्रायोजन गरेको बताए । अहिले एक वर्षको सम्झौता भएकोको र भविष्यमा यसलाई निरन्तरता दिने उनको भनाइ छ ।
नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटबलले पुनजिवित भएको बताए । छोटो समयमै नेपाली फुटबलमा इतिहास बनाएको क्लब मनाङको समेत आफ्नै ट्रेनिङ मैदान नभएको अवस्थामा अब त्यसका लागि एन्फाले पनि पहल गर्ने शेर्पाले बताए ।