गोपाल पोखरेल
शुक्रवार, पुष ४, २०७६
332

उदयपुर-जिल्लामा पछिल्लो समयमा व्यावसायिक कृषि सुरु भएको छ । जिल्लाका प्रायः सबै गाउँमा कच्ची सडक निर्माण भई हिउँदको समयमा यातायातसमेत सञ्चालन हुन थालेपछि किसानहरू व्यावसायिक कृषितर्फ लागेका हुन् । पछिल्लो ४ वर्षयता सुरु भएको कृषि व्यवसायमा युवाको समेत आकर्षण बढिरहेको छ ।
घर आँगनमै आइपुग्ने यातायातका साधनबाट आफ्नो उत्पादन सजिलै बजारसम्म पुग्न थालेपछि सामान्य खेतीपाती गर्ने किसानसमेत व्यावसायिक कृषितर्फ आकर्षित हुँदै गएका छन् । “सडक निर्माण र यातायात सञ्चालनपछि उत्पादनले राम्रो बजार मूल्य पाउन थालेपछि चार पाँच वर्ष यता व्यावसायिक खेती गर्नेको संख्या अत्यधिक बढेको छ,” कृषि ज्ञान केन्द्रका रामकुमार केसी भन्छन्, “जिल्लाका विभिन्न क्षेत्रमा कुरिलो, तरकारी, बाँस, सुन्तला, बेसार, अदुवा, अम्लिसो र तेजपातको व्यावसायिक खेती भइरहेको छ ।” किसानले आफ्नो जमिनको प्रकृति र माटो सुहाउँदो खेती गर्ने कार्यको समेत सुरुवात गरेको उनले बताए ।

प्राविधिकलाई माटोको परीक्षण गराई उनीहरूले दिएको सल्लाहअनुसारकै खेती गर्ने भएकाले विगतको तुलनामा दोब्बर बढी उत्पादन हुन थालेको छ । परम्परागत खेती प्रणालीबाट जीविकोपार्जनमा समस्या उत्पन्न भएपछि माटोको अवस्था र बजार मागलाई ध्यान दिँदै उत्पादन सुरु गरिएको किसानले बताएका छन् ।
“आफ्नो उत्पादन बजारसम्म लैजान नसक्दा कतिपय जाँगरिला किसान पनि खेतीपातीबाट निरास बनेका थिए,” ताम्लिछाका युवा कृषक हरि भट्टराईले भने, “तर, गाउँमा यातायातका साधन पुगेपछि त्यस्ता किसान व्यावसायिक खेतीमा लागेका छन् ।” यातायात सञ्चालनपछि किसानले थोरै खर्चमै उत्पादन बजारसम्म लैजाने र त्यसबाट गाउँघरको तुलनामा दोब्बर बढी आम्दानी लिने उनले बताए । “गत वर्ष बाँस बेचेरै डेढ लाख रुपैयाँ कमाएँ,” चौदण्डीका ध्यानबहादुर राईले भने, “भिरालो र ओसिलो पाखोबारीमा बाँसका झाङबाहेक अरु केही नसपिँ्रदा दिक्क लाग्थ्यो ।” कच्ची सडक पुगेसँगै बाँस बेचेर कल्पनै नगरेको रकम पाएपछि व्यावसायिक खेती सुरु गरेको उनको भनाइ छ ।
गाउँघरमा त्यसै खेर गइरहेको सिस्नो खरिदका लागि घरघरमै मान्छे पुग्न थालेपछि साउने र खाँबुमा सिस्नोको व्यावसायिक उत्पादन सुरु भएको छ । सिस्नो मधुमेह र उच्च रक्तचापको रोगका लागि औषधि हुने थाहा पाएपछि त्यहाँका महिलाले सिस्नोको व्यावसायिक उत्पादन सुरु गरेका हुन् । उनीहरूले उत्पादन गरेको सिस्नो गाईघाटका डिपार्टमेन्टल स्टोरमा आएर बिक्री हुन्छ । “पहिले सुंगुरको आहाराका लागि मात्र प्रयोग गरिने सिस्नो हिँजोआज हरियोमै ५० रुपैयाँ प्रतिकिलो बिक्री हुने गरेको छ । सुकाइएको सिस्नो भने औषधि र तरकारीका लागि प्रतिकेजी ३ हजार रुपैयाँका दरले बिक्री भइरहेको खाँबुकी मैयाँ विक बताउँछिन् ।
विशेषगरी बाख्रापालन, व्यावसायिक तरकारीखेती, बंगुरपालन, तेजपातखेती, सुन्तला खेतीजस्ता आयमूलक खेतीमा किसानहरू लागेको सल्लेका सुन्तला कृषक टेकबहादुर पाठक बताउँछन् । “हाम्रो देश नै कृषि प्रधान भएकाले कृषकहरूलाई व्यावसायिक खेतीमा आकर्षित गर्नु राज्यको पहिलो दायित्व पनि हो,” उनले भने, “मुलुक विस्तारै कृषि क्षेत्रतिर प्रवेश गरिरहेको छ ।” तर, कतिपय कृषकले राज्यबाट पाउनु पर्ने सहुलियत नपाएका कारण उनीहरूमा निराशा बढ्दै गएको पाठकको भनाइ छ ।