कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
344

झापा-कुनै बेला हङकङ बजारको नामले परिचित झापाको धुलाबारीमा अन्तर्राष्ट्रिय वाणिज्य महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघ मेचीनगरको आयोजनामा पुस ९ देखि १७ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।
महोत्सवमा नेपालसँगै भारत, बंगलादेश, पाकिस्तानका लगानीकर्ता, उत्पादक, निर्यातकर्तालाई एकै स्थानमा सामेल गराउने लक्ष्य राखिएको छ । हजारौं व्यापारी रहेको धुलाबारीमा तेस्रो पटक अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव ह्ुन लागेको हो । महोत्सवलाई रमपम चाउचाउले प्रायोजक गर्ने आयोजकले जनाएको छ । ५ विगाह क्षेत्रफलमा लाग्ने उक्त महोत्सवमा १ लाख जना मानिसलाई अवलोकन गराउने लक्ष्य आयोजकको छ । महोत्सवमा ५ करोड बढीको कारोबार हुने अनुमान गरिएको छ ।

उत्पादक र ग्राहकको चाहानाअनुरुप नेपाल भित्रिएका वस्तु तथा सेवालाई एउटै स्थानबाट अवलोकन गराउने उद्देश्य राखिएको आयोजक संस्थाका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए । यससँगै नेपाली उत्पादन र नेपालको व्यापार अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको तिम्सिनाले बताए । महोत्सवमा सहभागी उद्योगीले नेपालमा पाइने कच्चापदार्थ र नेपाली बजारको मागबारे प्रचार गर्ने अध्यक्ष तिम्सिनाको भनाइ छ । महोत्सवले नेपाली उत्पादनको निर्यात, व्यापार प्रवद्र्धनका लागि सहयोग पु¥याउने अपेक्षा राखिएको छ ।
उपभोक्ता र उत्पादकहरुलाई भेला गराई उद्योगी÷व्यवसायीहरु बीच औद्योगिक र उपभोग्य वस्तु, लगानीको नयाँ प्रविधि सम्बन्धमा आपसी जानकारीको आदान–प्रदान गर्ने वातावरण यस महोत्सवले सिर्जना गर्ने विश्वास आयोजकको छ । साथै महोत्सवले नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्नेसमेत सहयोग गर्ने तिम्सिना बताउँछन् ।
प्रदर्शनी हुने स्टल
व्यापार, कृषि तथा पर्यटन नाम दिइएको उक्त महोत्सवमा जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदर प्रोजक्टरसम्मका उत्पादन रहने छन् । नेपालका घरेलु, मझौला तथा ठूला उद्योगका वस्तु, पहाडी जिल्लाका कृषिजन्य वस्तु, पर्यटन प्रवद्र्धनका साथै धार्मिक सामग्रीका २ सय स्टल रहने महोत्सव आयोजक समितिका संयोजक भूमि पौडेलले बताए । जसमा २५ वटा भारतका र ५ वटा पाकिस्तानका रहने छन् । महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्षमा अलग–अलग परिसर बनाई अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, औद्योगिक उपकरण, कृषि तथा जडीबुटी, दैनिक उपभोग्य वस्तु, हस्तकला, तयारी पोसाक तथा जुत्ता चप्पल प्रदर्शनीमा राखिने पौडेल बताउँछन् ।
महोत्सवमा नेपालमा उत्पादित चिया, अलैंची, कुच्चोे, अदुवालगायतका नगदेबालीको प्रदर्शनीलाई प्राथमिकता दिइने अध्यक्ष तिम्सिनाले बताए । महोत्सव अवधि भर व्यावसायिक प्रवद्र्धनका विभिन्न देशका व्यवसायीबीच सेमिनारको आयोजना गरिएको छ । आयोजकले न्यूनतम १० हजारदखि अधिकतम ३० हजार रुपैयाँसम्म स्टलको शुल्क निर्धारण गरेको छ । उक्त स्टल अक्टोनोर्म प्रविधिबाट बनाइने छ ।
स्वदेशी पुँजी र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य
नेपालको मैद्रिक नीतिलाई परिवर्तन गर्नका लागि निकासिजन्य कृषि उत्पादनको प्रवद्र्धन गर्नु पर्ने उद्योग वाणिज्य संघ मेचीनगरका पूर्व अध्यक्ष विजय डालमियाले बताए । स्वदेशी पुँजीलाई प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गरिएको उनी बताउँछन् । निजी क्षेत्रको सहयोगमा सरकारले निकासीजन्य कृषि सामग्रीको पहिचान गर्न आवश्यक रहेको डालमियाको भनाई छ । महोत्सवले नेपाली कृषि उत्पादन र गुणस्तरीयतालाई विश्वसामु चिनाउने उनी बताउँछन् । यसले विदेशी लगानीकर्ता नेपाली उत्पादनमा आकर्षित हुने उनको भनाई छ । यसका लागि सरकारी पक्षबाट विदेशी व्यापारीलाई विश्वासको वातावरण बनाउनु पर्नेमा उनी जोड दिन्छन् । जसले कृषि पर्यटनको क्षेत्रमा समेत विकास हुने बताइएको छ ।
पछिल्लो समय देशभरि महोत्सव आयोजना भइरहेका छन् । यसमा मेचीनगर महोत्सवले आर्थिक क्रान्ति ल्याउने महोत्सव आयोजकको दाबी छ । विदेशी लगानीकर्तासँगको अन्तरक्रिया, नेपालभरी उत्पादन हुने कृषिजन्य वस्तुको प्रदर्शनी मेलाको फरकपन रहने संयोजक पौडेलको भनाई छ । महोत्सवमा झापामा बनाइने भक्कादेखि विभिन्न समुदायका खाद्यन्न, पहिरको प्रदर्शनीसमेत गरिने छ । संघले २०६० सालमा प्रथम पूर्वाञ्चल औद्योगिक व्यापार मेला तथा २०७० सालमा दोस्रो पूर्वाञ्चल औद्योगिक व्यापार मेला समेत सफलतापूर्वक सम्पन्न गरेको संस्थाका महासचिव ध्रुव कनालले बताए । महोत्सवमा ६० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।