कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
175

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पदभार ग्रहणसँगै आफूले सम्हालेको मन्त्रालयलाई एक नम्बरको बनाउने दाबी गरेका छन् ।
बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयको सभाकक्षमा कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री भट्टले उद्योग व्यवसायीमैत्री हुन कर्मचारीहरुलाई आग्रह गरे । मन्त्री भट्टले देशलाई उद्योगमैत्री वातावरण बनाउन एकतावद्ध भएर लाग्नुपर्ने बताए । त्यसैगरी, खुल्ला बजारमा मंहगी बढेको  भन्दै बजार तथा सामानहरुको अनुगमन भन्दा नीतिमा नियन्त्रण गर्नुपर्ने बताएका छन् । साथै भन्त्री भट्टले पुँजीलाई आकर्षित गर्न नारा र सम्मेलनले मात्र नहुने भन्दै स्रोत, साधन र समस्याको पहिचान गर्नुपर्ने बताए ।

त्यसैगरी नवनियुक्त राज्यमन्त्री मोतिलाल दुगडले आयोजित कार्यक्रममा बोल्दै नेपाल पर्याप्त स्रोत साधनको धनी देश रहेपनि उपयोग गर्न नसकेको बताए । मन्त्री दुगडले नेपाल समृद्ध तथा पूर्वाधारले पर्याप्त रहेको भन्दै मनोबल खस्किएका कारण देश गरिब भएको बताए ।
देशलाई समृद्ध बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै घुस खान्न र खान दिन्न भन्ने कुरामा आफूले संकल्प लिएर अगाडि बढ्ने बताए ।
यसैबीच नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले विगतमा गरिएका राम्रा कामलाई आत्मसाथ गर्दै गलत नीतिलाई सच्याउँदै भौतिक पूर्वाधारको क्षेत्रमा अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
नवनियुक्त मन्त्री नेम्वाङले विगतका कमि कमजोरीलाई सच्याउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न मन्त्रालयले जोड दिने बताए । मन्त्री नेम्वाङले उपयुक्त नीति बनाउने, भएका नीति तथा कार्यक्रमलाई अगाडि बढाउने र समस्याको समाधानमा सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे
त्यसैगरि, मन्त्री नेम्वाङले काठमाडौँलगायत विभिन्न क्षेत्रमा धुलो उड्ने, कालोपत्र उप्कने लगायतका विविध समस्या यथावत रहेको आफूलाई जानकारी रहेकाले छिट्टै तिनको समाधानमा लाग्ने बताए । नेम्वाङले सडक, रेल र यातायात विभागले गरेका काम कारवाहीका विषयमा अध्ययन गरेर उचित निर्णय लिने धारणा व्यक्त गरे । राष्ट्रिय महत्वका योजनाहरु रहेको भन्दै सबै काम द्रुत गतिमा लैजानु अहिलेको आवश्यक रहेको बताउनुभयो । मन्त्री नेम्वाङले विगतभन्दा धेरै कुराहरुमा सुधार आएको दाबी गर्दै त्यसलाई अझै तिव्रता दिने पनि बताए ।