कारोबार संवाददाता
मंगलबार, मंसिर ३, २०७६
241

विराटनगर-कृषि व्यवसाय प्रवद्र्धनका क्षेत्रमा लगानी वृद्धि गर्न सरकार, निजी तथा सहकारी क्षेत्रको सहकार्यको आवश्यकता औंल्याएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ ले आयोजना गरेको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले १ नम्बर प्रदेश आर्थिक समृद्धिका लागि छरपस्ट कार्यक्रमभन्दा तुलनात्मक लाभका क्षेत्र पहिचान गरी कृषिको व्यवसायीकरण र विशिष्टिकरण गर्नुपर्नेमा जोड दिए । उनले पूर्वाधारको विकास गरी गाउँलाई सहरसँग जोड्नु आवश्यक रहेको बताए । “पर्याप्त अध्ययन अनुसन्धान गरी अर्गानिक उत्पादन, बजारको खोजी, कृषि उपजको प्रशोधन, प्याकेजिङ र ब्राण्डिङमार्फत मूल्य अभिवृद्धि र बजार विस्तार गर्नुपर्ने देखिन्छ,” उनले थपे, “शीतभण्डार, वेयरहाउस, मण्डी, अक्सन हाउस तथा निर्यातगृह जस्ता बजार पूर्वाधारहरू निर्माण र सञ्चालनमा सार्वजनिक तथा निजी क्षेत्रले लगानी सहकार्य गर्नुपर्छ ।”
नीतिगत सुधार र अनुकूल व्यावसायिक वातावरण भए लगानीका लागि निजी क्षेत्र सधैं तयार रहेको र कृषि क्षेत्रमा चाँडै आत्मनिर्भर हुन सकिने उनको कथन थियो । कृषि क्षेत्रको लगानीमार्फत वैदेशिक व्यापार घाटा कम गर्न सकिने र रोजगारीका व्यापक अवसरहरू भित्रिने बोहराले बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ का उपाध्यक्ष लिलम बस्नेतले उच्च मूल्य सम्भावनाका रैथाने बालीको व्यावसायिक प्रवद्र्धन, कृषि क्षेत्रमा सुलभ वित्तीय पहुँच एवं सेवाको सुनिश्चता र निजी क्षेत्रको लगानीमैत्री वातावरणका लागि प्रदेशसभा र सरकारमार्फत आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेशसभाले भर्खरै सार्वजनिक–निजी–सहकारी साझेदारी तथा लगानी प्राधिकरणसम्बन्धी ऐन पास गरेको जनाउँदै अब सबैले सहकार्य र साझेदारी गर्ने उपयुक्त समय आएको उनको भनाइ थियो ।
यसैगरी नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) का टिम लिडर जिबी बञ्जाराले मुनाफामूलक, साना किसानहरूलाई लाभ पुग्ने र सार्वजनिक– निजी–सहकारी क्षेत्रले सहलगानी गर्ने क्षेत्र पहिल्याई अघि बढ्नुपर्ने बताए । सहभागीहरूले अलैंचीमा देखिएको रोगका कारण अलैंची किसानलाई ठूलो मार परेको, पर्याप्त पहल र प्राथमिकता नदिइएको, बैंक तथा वित्तीय संस्थाहरूले कृषि क्षेत्रमा कर्जा प्रवाह गर्न आलटाल गरेको, निर्यात प्रवद्र्धन गर्न वेयरहाउस र अक्सन सुविधा नभएको, अनुदानको सदुपयोगका लागि पर्याप्त ध्यान नदिएको र किसानका लागि बजार सुनिश्चितता नभएको भनाइ राखेका थिए ।
पूर्वी पहाड अलंैची, अदुवा, चिया, ताजा तरकारी, सुन्तला, कागती, मसलाबाली, दूध, बंगुरपालन, बाख्रापालन, माछा, एभोकाडो, कफी, किविफल, जडिबुटी, रुद्राक्ष, रैथाने बाली कृषि पर्यटनलगायतका कृषि बाली र कृषि उद्योगहरूमा लगानी फलदायी हुनेमा सहभगीको जोड थियो । कार्यक्रममा पाख्रीबास नगरपालिकाका मेयर, खोटाङ उद्योग बाणिज्य संघका तारानाथ फुयाल, भोजपुरका ध्रुवलाल श्रेष्ठ, अलैंची व्यवसायी इन्द्र तामाङ, लाखमान घिसिङ, कृषि उद्यमी सुरेन्द्र पौडेल, युवा उद्यमी सावित्रा घिमिरे, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का कार्यकारी निर्देशक राधारमण भण्डारी, कोषाध्यक्ष श्रवणकुमार अग्रवाललगायतले कृषिमा लगानीका सम्भावना र आवश्यकताबारे आफ्ना सुझावहरू राखेका थिए ।
यसअघि सहज कार्यक्रम र महासंघको पहलमा प्रदेश–१ मा कृषि क्षेत्रमा लगानीका अवसरहरू विषयमा अर्थशास्त्री सहप्राध्यापक डा. अर्जुनकुमार बरालले प्रदेशमा कृषिको वर्तमान अवस्था र लगानीका विविध क्षेत्रका बारेमा अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेशका विभिन्न जिल्लामा रहेका तुलनात्मक लाभ र उच्च सम्भावनाका क्षेत्रमा कृषिको यान्त्रिकीकरण, प्रविधि विकास, ठूला व्यासायिक कृषि फर्म, प्रशोधन उद्योग स्थापना, वित्तीय सुविधा, कृषि बिमा, कृषि सामग्री, मल तथा दाना उद्योग, शीतभण्डार, वेयरहाउस, अक्सन केन्द्र, मण्डी, खाद्य तथा विषादी परीक्षण प्रयोगशाला, कृषि भूमिको चक्लाबन्दी, करार खेती, भूमि बैंक, कृषि सूचना प्रणालीलगायतका क्षेत्रमा लगानी उपयुक्त देखिएको बरालको भनाइ थियो ।
धनकुटा उद्योग वाणिज्य संघको सहआयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय नगर र गाँउपालिकाका प्रमुख उपप्रमुख, भोजपुर, खोटाङ, तेह्रथुमलगायत जिल्लाका उद्योग व्यवसायी, किसान, उद्योगी, सहज परियोजनाका सिनियर म्यानेजर पदमलाल भण्डारी, परामर्शदाता विष्णुप्रसाद काफ्ले, महासंघका कार्यक्रम संयोजक संजित रिजाललगायतको उपस्थिति थियो । यसअघि महासंघले इलाम, झापा र उदयपुर जिल्लामा यस्तै कार्यक्रमहरू सम्पन्न गरिसकेको छ ।