कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६
307

सुर्खेत-कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रथम राष्ट्रिय औद्योगिक व्यापार कृषि नविनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव–२०७६ हुने भएको छ ।
‘आर्थिक समृद्धिका लागि कर्णालीमा उद्योग खोलौं, औद्योगीकरणमा सबै जुटौं’ भन्ने मूलनाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजनामा उक्त महोत्सव सञ्चालन हुन लागेको हो । आयोजकका अनुसार मंसिर १८ गतेदेखि सञ्चालन हुने उक्त महोत्सव मंसिर २४ गतेसम्म सञ्चालन हुने नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर बिसीले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा ३ सय लघु घरेलु तथा साना उद्योगका साथै अन्य व्यवसायीका स्टल रहने तथा कर्णाली प्रदेशका प्रतिजिल्लाबाट कम्तीमा ५ उद्यमीको सहभागिता रहनेछ । महोत्सव अवधिभरि २ लाख बढी सर्वसाधारणले अवलोकन गर्ने र ५ करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष बिसीले बताए । “कर्णाली प्रदेशभित्रका लघु घरेलु तथा साना उद्यमीका उत्पादनलाई महत्व दिइनेछ,” उनले भने, “यसका साथै स्वदेश तथा विदेशका उत्पादन तथा सेवाको प्रदर्शनसमेत गरिनेछ ।’ महोत्सवमा महिला उद्यमशीलता प्रदर्शनी तथा उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरिने उनले बताए । त्यस्तै कर्णाली प्रदेश उद्योग, पर्यटन, जडीबुटीलगायत अन्य स्रोत तथा साधनहरूको प्रचार–प्रसार गरिने, पर्यटकीय क्षेत्रहरूको प्रचार गर्ने, कर्णालीको रैथाने बालीको व्यावसायिक खेती तथा प्रचार–प्रसार, औषधिजन्य जडीबुटीको पहिचान, खेती र बजारीकरण, खनिजहरूको खोजतलास, तथा व्यापारिकरण गर्न यस मेलाले सहयोग पु-याउने अपेक्षा गरिएको छ । त्यस्तै महोत्सवमा जौको मःम, फापरको चाउमिन, लगर चोतीको अचार, चिनो मार्सी चामलको खीरलगायत अन्य कर्णालीका स्थानीय परिकारको प्रचार–प्रसार गरिनेछ ।
महोत्सव सफल पार्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय लघु उद्यमी महासंघ र अन्य उत्पादनमा लागेका सहकारी संस्थाहरूसँग सहकार्य गरेर महोत्सव सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।