कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६
272

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता दुई गुणाभन्दा धेरैले बढेको छ । उद्योग विभागका अनुसार साउनदेखि असोज मसान्तसम्मको अवधिमा ११ अर्ब ३६ करोड रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३५ गुणाले बढी हो । अघिल्लो वर्ष ४ अर्ब ८३ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो ।
सरकारले गत चैत महिनामा नेपाल लगानी सम्मेलन आयोजना गरेपछि वैदेशिक लगानीकर्ताको रुचि बढेको हो । चालू वर्षमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै लगानीका लागि प्रतिवद्धता आएको छ । एकातर्फ सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनसँगै निजी क्षेत्रको आयोजनामा भएको पूर्वाधार सम्मेलन तथा सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने योजनाले पर्यटन क्षेत्रमा लगानी प्रतिवद्धता बढेको छ । यसअघि औद्योगिक व्यवसाय ऐन, खानी ऐन, पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन, सेज ऐन तथा नियमावलीजस्ता नीतिगत व्यवस्थाले पनि लगानी लागि प्रोत्साहन गरेको छ । यसले नेपालमा लगानीका लागि वातावरण बन्दै गएको र विदेशीहरु पनि लगानीका लागि आकर्षित हुँदै गएको देखिएको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । चीनको सानो सानो लगानीमात्रै आकर्षित भयो तर मेगा परियोजनाको लगानी आउन भने सकेको छैन । “नेपालको बजेट भन्दा धेरै लगानी चीनले कतिपय देशको एउटै परियोजना लगानी गरेको छ, तर नेपालमा त्यो खालको ठूलो लगानी आउन सकेको छैन, अब चीनको ठूलो लगानी आउनुपर्छ किनकी सानोसानो लगानी त स्वदेशी उद्योगीले पनि गर्न सक्छन्,” श्रेष्ठ भन्छन् ।
चालू वर्षको तीन महिनामा ३९ वटा पर्यटन उद्योग दर्ता भएकोमा ९ वटा होटल तथा रेष्टुरेन्टमार्फत ५ अर्ब ७७ करोड वैदेशिक लगानी प्रतिवद्धता आएको हो । सिमेन्ट उद्योग, होटल, रेष्टुरेन्ट, उर्जा, पर्यटन, साना तथा मझौला उद्योग लगायतमा चीनको लागानी छ ।
विदेशी लगानीतर्फ चालू वर्षमा ७७ उद्योगले स्वीकृति पाएका छन् । यसमा सबैभन्दा बढी ३९ वटा पर्यटन क्षेत्र हो भने सेवातर्फ २५, उत्पादनका ७, सूचना प्रविधिसम्बन्धी ५ र कृषि, वन पैदावारका एउटा उद्योगका लागि प्रतिवद्धता आएको छ ।
विभागको तथ्यांकअनुसार सबै उद्योगका लागि ११ अर्ब ३६ करोड रुपैयाँको प्रतिबद्धता आएको छ । यसबाट ४ हजार २ सय ९२ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । गत वर्षको सोही अवधिमा चार अर्ब ८३ करोड ५२ लाख रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको थियो । विभागका सूचना अधिकारी विनोद खड्काले चालू आवमा आएको लगानीको प्रतिवद्धताले देशमा लगानीको वातावरण बन्दै गएको संकेत गरेको बताए । उनले अघिल्लो वर्ष भन्दा यस वर्षको पहिलो तीन महिनाको सुरुवात राम्रो भएको बताए ।
एकातर्फ लगानीको प्रतिवद्धताको रकम बढेको तथ्यांक सरकारी निकायले सार्वजनिक गरेपनि विगतका वर्षमा कति लगानी आयो कति लगानी पाइपलाइन छ र कति प्रतिवद्धतामै सीमित भए भन्ने विषयमा भने कुनै अध्ययन भएको छैन । प्रत्यक्ष वैदेशिक लगानीमात्रै नभएर स्वदेशी लगानीकर्ताले पनि उद्योग दर्ता गरी लाइसेन्स होल्ड गर्ने प्रवृत्ति बढेको छ । विदेशी तथा स्वदेशी लगानीको प्रतिबद्धता बर्सेनि बढेपनि सोहीबमोजिम लगानी भने भित्रन सकेको छैन । विदेशी लगानीमा उद्योग विभागमा दर्ता भएका उद्योग कति सञ्चालनमा छन् र तिनमा वास्तविक लगानी कति थपियो वा थपिएन एकीकृत तथ्यांक सरकारी निकायसँग छैन ।