कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६
250

आगामी मंसिर १२ देखि १६ गतेसम्म १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नबिल बैंक, नेपाल चेम्बर अफ कमर्स, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेको हो ।
महासंघले बुधबार पत्रकार सम्मेलन गरी नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यावसायिक सम्बन्ध विकास गर्नु, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा सहभागिता गर्ने, व्यापार मेलाको माध्यमबाट नेपाली कला संस्कृतिको प्रचार–प्रसार गर्न मेला आयोजना गरिएको मेलाका महासंघका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले जानकारी दिए ।

मेलामा आठ प्याभिलियनसहित २ सय कक्ष रहनेछन् । मेलामा ७७ वटै जिल्ला हस्तकलाको सहभागिता रहनेछ । मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायतका युरोपका विभिन्न मुलुकमा २० भन्दा बढी स्टल रहनेछन् भने बाँकी नेपाली स्टल हुनेछन् । नेपालको हस्तकला हाल विश्वका अधिकांश मुलुकमा निर्यात हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बाँसका सामानहरू प्रदर्शनमा राखिनेछन् ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्य, नेपाल सरकार व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुयस खनाल, महासंघका उपाध्यक्ष तथा १५ औं हस्तकला प्रतियोगिताका संयोजक राजमान बज्राचार्य, महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यलगायतले मेलाको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।