कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६
317

बागलुङ- भारतमा ३५ वर्षे जागिरे जीवन बिताएका जैमिनी नगरपालिका–१० राङखानी, दोभानका शशीधर शर्माको परिचय अहिले उद्यमीका रुपमा फेरिएको छ । शर्माको सेवा निवृत्त जीवन बेफुर्सदिलो छ । उमेरले ६१ टेकिसक्दा पनि सक्रियता उस्तै छ ।
तीन वर्षअघि गाउँ फर्कनुभएका शर्माको दैनिकी पशुपक्षीको स्याहारसुसार र खेतीपातीमा बित्छ । कुनै बेला उजाड बनेको घरगोठ, खेतबारी उहाँ आएपछि हराभरा भएको छ । परम्परागत कृषिले व्यावसायिक रूप पाएको छ ।
एक वर्षअघि ‘ऋमा पोल्ट्री फार्म’ खोलेर शर्माले व्यावसायिक कुखुरापालन सुरु गरेका छन् । ‘फार्म’मा ‘लेयर्स’ जातका डेढ सय कुखुरा छन् । गाउँमा ताजा अण्डा उत्पादन गर्ने र बेच्ने उद्देश्यले कुखुरापालन सुरु गरेको उनको भनाइ थियो ।
कुखुरापालनमा ६ लाख रुपैयाँ बढी लगानी भएको छ । दुई आधुनिक खोर निर्माणमा मात्र रु पाँच लाख खर्च भएको शर्माले बताउनुभयो । “दैनिक एक सय ३० देखि ४० सम्म अण्डा उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “एउटा अण्डा १२ रुपैयाँ ७० पैसा र क्रेट तीन सय ८० मा बिक्री भइरहेको छ ।” अण्डाबाट मासिक रु. ५५ हजारसम्म कारोबार हुन्छ ।
खर्च कटाएर महीनामा २०÷२५ हजारसम्म नाफा निस्कने गरेको छ । कुखुरापालन व्यवसायलाई थप विस्तार गर्ने उहाँको योजना छ । “सबैले चिसो ठाउँमा कुखुरापालन हुँदैन भन्थे, मलाई गर्छ भनेर पत्याएका थिएनन्”, उनले भने, “तर गरेपछि सम्भव हुँदो रहेछ, अहिले सबैले राम्रो काम ग¥र्यो भनेर प्रशंसा गर्छन् ।”
कुखुरालाई चाहिने तापक्रम व्यवस्थापनका लागि आधुनिक तरिकाबाट खोर निर्माण गरिएको शर्माको भनाइ छ । ‘फार्म’मा उत्पादित अण्डा गाउँमै खपत हुने गरेको छ । शर्माले कुखुरासँगै बाख्रापालनलाई पनि अघि बढाएका छन् । अहिले उनकोमा माउ र पाठापाठी गरी सात बाख्रा छन् ।
बोका, खसी बिक्रीबाट पनि राम्रै आम्दानी हुने गरेको छ । गोठमा भैँसी र गोरु पनि छ । परिवारलाई चाहिने तरकारी बाहिर किन्नुपर्दैन, घरमै फल्छ । खेतबारीमा अन्नबालीको काम पनि शर्माले सम्हाल्दै आउनुभएको छ । उनी जागिरमा विदेश हुँदा घरमा कोही पनि बस्दैनथे । श्रीमती रत्नादेवी शर्मा जागीरे र व्यवसायी छोराबुहारीसँग बागलुङ सदरमुकाम बस्नुहुन्थ्यो । छोरीको भारतमै बिहे भइसकेको थियो ।
शर्मा नेपाल फर्केपछि श्रीमती रत्नादेवी पनि गाउँ फर्किए । दुवैजना मिलेर व्यावसायिक कृषि पेशातिर लागे । “जागीरबाट निस्केपछि छोराबुहारीले शहरतिरै बस्ने योजना बनाएका थिए”, शर्माले भने, “तर, मलाई गाउँ नै फर्कन मन लाग्यो, कृषितिरै मन गयो ।” शर्माकी आमा पनि अहिले छोराबुहारीसँगै गाउँमै रमाएर बस्नुभएको छ । आफ्नै गाउँघरमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण शर्मा बनेका छन् ।
२२ वर्षको उमेरमा कामको खोजीमा भारत पुग्नुभएका उहाँले २५ वर्ष हैदरबादको टायर कम्पनीमा र १० वर्ष बाहिर काम गर्नुभएको थियो । बुबा घर फर्केर कृषिमा लागेपछि पेशाले स्वास्थ्यकर्मी छोरा ऋषिरामले पनि ‘फार्म’ व्यवस्थापनमा सघाउँदै आएका छन् ।

सहकारीले लोकसेवाको तयारी कक्षा सञ्चालन गर्ने
काठमाडौं, ४ कात्तिक (रासस) ः ब्रह्मपुरी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यका छोराछोरीको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि लोकसेवाको तयारीलगायत अन्य प्रतिस्पर्धाका लागि कक्षा सञ्चालन गर्ने भएको छ ।
यसैगरी सदस्यहरूलाई शेयर लाभांशमा जम्मा हुन आएको रकमबाट १२ प्रतिशत र राहतकोषबाट तीन प्रतिशत गरी शेयर पुँजीमा १५ प्रतिशत रकम उपलब्ध गराउने र महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन गर्नेजस्ता योजना पनि सञ्चालन गरिने उक्त संस्थाको २१ औं वार्षिक साधारणसभामा जानकारी दिइयो ।
साधारणसभा शुभारम्भ गर्दै महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले सहकारीको रकम डुब्न नदिन नगर क्षेत्रभित्रका सहकारी संस्थाबीच एक ‘इन्फर्मेसन क्रेडिट सेन्टर’ स्थापना गर्नुपर्ने र यस काममा नगरपालिकाले सघाउने जानकारी दिए ।
केही सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेकाले त्यसलाई नियन्त्रण गर्न सरोकारवालाहरूको सुझावबमोजिम सहकारी ऐनमा केही कडा प्रावधान राखिएको जानकारी दिँदै उनले यसबाट राम्रा काम गर्ने सहकारीलाई परेको अप्ठ्यारो फुकाउन निर्देशिकालाई सरल बनाइने बताए ।
उक्त नगरपालिका–९ का अध्यक्ष वासुदेव शर्माले सहकारीले दिने सेवा प्रभावकारी हुनुपर्ने र विगतमा घोषणा गरिएका कार्यक्रम कार्यान्वयन गराउनुपर्नेमा जोड दिँदै सहकारीको हितमा नगरपालिकाबाट सहयोग हुने जानकारी दिए । ललितपुर जिल्ला बचत संघका सचिव श्याम महर्जन, जिल्ला सहकारी सङ्का सञ्चालक शशिधर पोखरेल, स्थानीय सहकारी संस्था समन्वय समितिका संयोजक देवेन्द्र पौडेललगायतले सहकारी संस्था सञ्चालनमा बाधा परेका सहकारी ऐनका केही प्रावधान खारेज हुनुपर्ने, साधारण सदस्यलाई आफ्नो भूमिकाबारे जानकारी गराउनुपर्नेजस्ता विषयमा जोड दिएका थिए ।
साधारणसभामा उक्त संस्थाका अध्यक्ष श्रीराम पौडेल ‘उदासी’ले उक्त संस्थाको गतिविधि, लेखा समिति संयोजक अरुणकुमार पौडेलले लेखासमितिको प्रतिवेदन, सचिव रामशरण घिमिरेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गोपीकृष्ण घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

 

सातामा धेरै पढिएको