कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६
325

इन्डोनेसियामा सम्पन्न व्यापार मेलामा नेपाली व्यवसायी पनि सहभागी भएका छन् । आइतबार सम्पन्न मेलामा नेपालसहित १३० मुलुकका व्यवसायी सहभागी थिए । मेलामा रेल, बस निर्माता कम्पनीदेखि हस्तकलाका वस्तुहरूको समेत प्रदर्शनी गरिएको थियो । मेलाअन्तर्गत १० युनिटमा कुल १२ सय स्टल रहेका थिए ।
मेलामा १ हजार २ सय १५ उद्यमी तथा व्यवसायीले भाग लिएका थिए भने मेलामा इन्डोनेसियामा उत्पादन गरिएका वस्तुमात्र राखिएको जनाइएको छ । १३० देशका बायरहरूको सहभागिता रहेको मेलाको उद्घाटन इन्डोनेसियाका उपराष्ट्रपति युसुफ कालाले गरेका हुन् । मेला इन्डोनेसियको कन्भेन्सन सेन्टर बीएसडीमा आयोजना गरिएको थियो भने सो अवसरमा उत्कृष्ट निर्यातकर्ता व्यवसायीलाई निर्यात अवार्ड २०१९ बाट सम्मान गरिएको मेलामा सहभागी व्यवसायी कुमार खतिवडाले जानकारी दिए ।

मेलामा नेपालका लागि इन्डोनेसियाका राजदूत रिना पि सोमेरानोको समेत उपस्थिति थियो । सो अवसरमा बोल्दै राजदूत सोमेरानोले मेलामा इन्डोनेसिया मा उत्पादन गरिएका बस्तु मात्र राखिएको जानकारी दिइन् । उनले जुन वस्तु विदेश निकासी गरिने मात्र हुन् ती प्रिमियम ब्रान्डका बस्तुमात्र राखिएको बताइन् । यस अवसरमा उपयुक्त पाटनर सहभागी गराउन सके यसले व्यापार अभिवृद्धिमा सहयोग पु¥याउने बताइन् । उनले नेपाल र इन्डोनेसिया बीचको आर्थिक सम्बन्ध विस्तार पनि यस प्रकारको मेलाले धेरै सहयोग पु¥याउने बताइन् ।
हाल नेपालबाट नगन्य मात्रामा वस्तु निकासी भए पनि इन्डोनेसियाबाट भने १५२६८ मिलियन डलर बराबरको वस्तुको आयात भएको छ । यस्तै, वार्षिक १० हजार नेपाली घुम्न इन्डोनेसिया आउँछन् ।
‘नेपाल–इन्डोनेसिया बिजनेस फोरम’ कात्तिक १९ मा
आगामी कात्तिक १९ गते काठमाडौंमा ‘नेपाल–इन्डोनेसिया विजनेश फोरम’ को बैठक हुने भएको छ । इन्डोनेशियामा भएको ३४ औं व्यापार मेलामा बिहीबार आयोजित व्यापारिक अन्तरक्रियामा बैठकबारे जानकारी गराइएको हो । नेपालमा पहिलो पटक हुन लागेको नेपाल–इण्डोनेसिया बिजनेस फोरममा दुवै देशका व्यवसायी, उद्योगी, आयात निर्यातकर्ताको सहभागिता हुनेछ ।
नेपालका लागि इन्डोनेसियाका राजदूत रीना सोमेरानोले काठमाडौंमा हुने बैठकले नेपाल र इन्डोनेसियाका व्यवसायीलाई व्यापारिक साझेदारी र लगानीका लागि ढोका खुल्ने बताइन् । नेपालबाट मेलामा सहभागी हुन गएका आईएमई ग्रुपका उपेन्द्र घिमिरेले खाद्यवस्तु, तयारी कपडा, चिया, कफी, विद्युतीय सवारी साधन उत्पादन गर्ने उद्योग व्यवसायीहरू काठमाडौंमा हुने बैठकमा सहभागी हुन आउने बताए ।
कार्यक्रममा सहभागी इन्डोनेसियाली व्यवसायीहरू नेपालमा लगानी गर्न इच्छुक देखिएको बताएका छन् । पछिल्लो समय इन्डोनेसियामा नेपाली पर्यटकको रुपमा घुम्न जाने क्रम बाक्लिएसँगै व्यवसायीको नेपालप्रति चासो बढेको देखिन्छ । नेपाल र इन्डोनेसियाबीचको सम्बन्धमा नेपालभन्दा इन्डोनेसिया एक कदम अगाडि देखिन्छ ।
इन्डोनेसियाले नेपाली राहदानी वाहकलाई अन अराइभल भिसा निःशुल्क दिँदै आएको छ । नेपालले अनअराइभल भिसा दिए पनि शुल्क लिने गरेको छ । एसियामा उदाउँदो अर्थतन्त्र भएको इण्डोनेसिया (जी२०) राष्ट्रहरूको फोरममा आशियान मुलुकहरू मध्य एक्लो हो ।


सातामा धेरै पढिएको