कारोबार संवाददाता
सोमवार, आश्विन २७, २०७६
328

औषधि उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको छ । छालाजन्य रोका लागि प्रयोग हुने औषधिमध्ये बजार मागको ४५ प्रतिशत बजार हिस्सा ओगट्न स्थानीय उद्योग सफल हुँदै गएको छ । तर, यसतर्फ क्लोरोहेग्जिडिन, बेन्जाडामिन, पोभिडिन आयोडिन छालाको फङ्गल इन्फेक्सनमा प्रयोग हुने माइकोनाजोल, क्लोट्रिमाजोल लगायत ३० प्रकारका मोलिक्युल औषधि व्यवस्था विभागमा दर्ता नभई आयात भइरहेको पाइएकाले नेपाल औषधि उत्पादक सघंको गम्भीर ध्यानाकर्षण भएको सघंले जनाएको छ ।
सघंका अध्यक्ष दीपक दाहालका अनुसार आयात अनुमति नलिई छालाजन्य (डर्माटोलोजी) रोगका स्टोराइड जस्ता औषधि कस्मेटिक नाममा आयात भएको पाइएको छ । यसबाट नेपाली उद्योग ध्वस्त हुने निश्चित छ । अर्कोतर्फ जनस्वास्थ्य माथि ठाडो खेलबाड भएको उनको जिकिर छ । यस प्रकारका औषधि आयात नियन्त्रणका लागि औषधि व्यवस्था विभागसँग दर्जनौं पटक समन्वय गरिए पनि खासै चासो नदिएको समेत उनले गुनासो गरेका छन् । पूर्ण आत्मनिर्भर भइसकेको छालाजन्य रोगका औषधिको वार्षिक करिब ६ सय करोडको कारोबार हुने गरेको संघका कोषाध्यक्ष प्रभात रुंगटाले बताएका छन् ।

उनका अनुसार नेपालमा सञ्चालित ६५ औषधि उद्योगमध्ये ३० उत्पादकले डर्माटोलोजीसम्बन्धी औषधि उत्पादन गर्छन् । जसमध्ये मारुती फर्मास्युटिकल्स, देउराली जनता, एसियन, आदिरेमिडिज, एनपीएलका असर युक्त औषधिले अग्रस्थान ओगट्न सफल भएको छ । सघंका महासचिव प्रज्वलजंग पाण्डेका अनुसार यस प्रकारका अनधिकृत औषधि आयात पूर्ण नियन्त्रण हुन सकेमात्र नेपाली उद्योगको क्षमता पूर्णरूपमा प्रयोग भई निर्यात सम्भावना बढ्छ भने नेपाली औषधि उत्पादक खोजमूलक उत्पादनलाई बजारमा ल्याउन सफल हुन्छन् ।
हालै औषधि व्यवस्था विभागले गरेको बजार अनुगमनमा समेत विभागबाट आयात अनुमति नलिई छालाजन्य रोगका उपचारमा प्रयोग हुने विभिन्न प्रकारका औषधि बजारमा खुलेआम बिक्री भएको पाइएको जनाइएको छ । जसको नियन्त्रणका लागि भन्सार विभागमा समेत पत्राचार गरी सकिएको विभागले जनाएको छ । यस विषयमा भन्सार विभागसँग जिज्ञासा राख्दा औषधि व्यवस्था विभागबाट भन्सारलाई यस्ता आयात अनुमति नलिएका औषधि आयात नियन्त्रणमा सहयोग पु¥याउन असायसहितको पत्र प्राप्त जनाएको छ । तर भन्सार स्रोतका अनुसार विभागले यस्ता औषधि बजारमा भेटिन बित्तिकै औषधि ऐनअन्तर्गत ठाउँको ठाउँ कारबाही गर्नुपर्न जिम्मा औषधि व्यवस्था विभागको नै भएको उसले जनाइएको छ ।