अमरराज आचार्य
शुक्रवार, आश्विन ३, २०७६
267

दाङ-सुवास राई नेपाली सेनाको घोराहीमा रहेको रिपुमर्दन गणमा कार्य रहेका छन् । उनी अहिले ड्युटीको समय बाहेकको बचेको समयमा कुकको तालिम लिइरहेका छन् । उनले घोराही उप–महानगरपालिका–१५ मा रहेको वेसमेन्ट क्याफे एन्ड रेस्टुराँमा कुक तालिम लिइरहेका छन् । उनले तालिम लिन थालेको १ महिना भएको बताउँछन् ।
उनी शुल्क तिरेर भए पनि तालिम लिने भनेर आएका थिए तर निःशुल्क तालिम प्राप्त गरेको बताए । सानैदेखि खाना बनाउने गरेका उनले कुकको तालिम लिने सोच बनाएका थिए । अहिले त्यही सोच पूरा गर्ने थालेका छन् । “जहा इच्छा त्यहाँ उपाय भने झै अहिले मेरो इच्छा पूरा भएको छ,” राईले भने । एक महिनाका अवधीमा आफूले चाउमिन, मम, विर्यानी, ड्रमस्टिक, चिकनका विभिन्न परिकार बनाउन सक्ने भएको बताए ।

उनीसँगै अहिले उनका सार्थीहरू पनि कुकको तालिम सिक्न आएका छन् । सीप सिकेर खेर नजाने भएकाले आफू सीप सिक्न आएको उनीहरू बताउँछन् । धेरैलाई कुकप्रतिको शोखले यता तानेको हो । मिठो बास्ना आउने भान्सालाई आर्फै बुझ्न र सिक्न उनीहरू आएका हुन्, उनीहरूलाई कुनै संस्थाले कुकको तालिम लिन पठाएको भने होइन । पर्याप्त समय नभए पनि समय मिलाएर सिक्न आउने गरेको उनको भनाइ छ । “अहिले नै प्रयोग नहुन सक्छ तर पछि गएर काम लाग्ने छ,” सुवासले भने । सीपले मानिसलाई आत्म निर्भर बनाउने उनले बताए । सीपले मानिसलाई अगाडि बढाउन सहयोग मिल्ने उनको भनाइ छ ।
घोराही कपासी निवासी धीरज चौधरी पनि अहिले कुकको तालिम सिकिरहेका छन् । बीबीएस अध्ययन समेका उनले फुर्सदको समयमा सीप सिक्नुपर्छ भनेर कुकको तालिम लिन थालेको बताए । आफ्नो सानैदेखिको रुचि कुकतर्फ भएकाले पनि तालिम लिइ रहेको बताए । “केही परिकार सिकि सकेको र केही अझै सिक्न बाँकी रहेको छ,” चौधरीले भने ।
उनले १ महिनादेखि कुकको तालिम लिइरहेका छन् । सीप सिकेपछि सहज हुने भएकाले आफू सीप सिक्न थालेको बताए । “सीप सिकेर खेर जाँदैन त्यसैले कुक तालिम सिक्न थालेको हुँ,” चौधरीले भने । उनले सामाजिक सञ्जालमा कुकसम्बन्धी तालिमका बारेमा सूचना देखेपछि आएको बताए । आफूलाई साथीहरूसँगै निःशुल्क सीप सिक्न पाउँदा खुसी लागेको बताउँछन् । उनी राम्रो फुटबल खेलाडीसमेत छन् । उनले फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरिसकेका छन् ।
वेसमेन्ट क्याफे एन्ड रेस्टुराँका कुक पहलसिंह वलीले बेरोजगार रहेका युवाहरूलाई सीप सिकाउने उद्देश्यले निःशुल्क तालिम प्रदान गर्न थालिएको बताए । अहिले ४ पुरुष र ४ महिला गरी ८ जनालाई तालिम प्रदान गरिरहेको उनको भनाइ रहेको छ । उनीहरूलाई दुई सिप्ट गराएर सिकाउने गरेको उनले बताए । आफू पनि कुकको तालिम लिन जाँदासमेत राम्रोसँग सिक्न नपाएको भन्दै आफूले सिकेको सीप अरूलाई पनि सिकाउने उद्देश्यले यसरी तालिम दिन थालेको बताए । आफूहरूले सीप अरूलाइ प्रदान गर्ने भनेर निःशुल्क रूपमा तालिम दिएको उनको भनाइ रहेको छ ।