कारोबार संवाददाता
बिहिवार, आश्विन २, २०७६
379

नेपाल उद्योग वाणिज्य महासंघको रिक्त महानिर्देशक पदमा धरणीधर खतिवडालाई नियुक्त भएका छन् । नवनियुक्त महानिर्देशक खतिवडाले बुधबार पदबहाली गरेका छन् । सरकारका विभिन्न निकायहरूमा नेतृत्वदायी पदमा रही काम गरेका महानिर्देशक खतिवडा पछिल्लो पटक सरकारको सचिवबाट सेवा निवृत्त भएका थिए । खतिवडाले यसअघि पनि महासंघमा वरिष्ठ परामर्शदाता र महानिर्देशकको रूपमा काम गरी महासंघ सचिवालयलाई नेतृत्व गरेका छन् ।
पदवहाली पश्चात् महासंघमा कार्यरत कर्मचारीहरूलाई सम्बोधन गर्दै महानिर्देशक खतिवडाले महासंघको छविलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उच्च पार्दै यसका मूलभूत उद्देश्य सफल पार्ने कार्यमा सचिवालयका कर्मचारीहरूबाट आफूलाई सहयोग प्राप्त हुने बताएका छन् । महानिर्देशक खतिवडाले महासंघप्रति यसका सदस्य संघ–संस्थाहरूको धेरै अपेक्षा रहेको र ती अपेक्षाहरूलाई पूरा गर्नेतर्फ सधैं सचेत र सक्रिय रहनुपर्नेमा जोड दिए । पदवहाली कार्यक्रममा महासंघका उपमहानिर्देशक, निर्देशक, उपनिर्देशक, सहायक निर्देशक, महासंघअन्तर्गत सञ्चालित परियोजनाका प्रमुखहरूलगायतका महासंघका सबै कर्मचारीको उपस्थिति थियो ।