कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
270

रुकुम उद्योग वाणिज्य संघ रुकुम पश्चिममा अन्तरिम कार्यसमिति गठन गरिएको छ । जससँगै १४ महिना अघिदेखि जारी विवाद सुल्झिएको छ । गतवर्ष असार २२ गते अधिवेशन सुरु हुनै लाग्दा आर्थिक अनियमितता लगायतको विषयलाई लिएर भएको विवादले अधिवेशन रोकिनुका साथै संघको सबै गतिविधि ठप्प भएको थियो ।
विधानअनुसार अघिल्लो कार्यसमितिको अवधि सकिएको र अधिवेशन पनि नभएपछि जटिल परिस्थिति उत्पन्न भएको भन्दै उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य ध्रुवराज श्रेष्ठको संयोजकत्वमा गठन गरिएको कार्यदलले लामो प्रयासपछि विवादको समाधान गरेको हो । कार्यदलले साविकको कार्यसमिति विवादित भएकाले ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्नका लागि स्थानीय व्यवसायी पलबहादुर खड्काको संयोजकत्वमा ५ सदस्यीय अन्तरिम कार्यसमिति गठन गर्दै समस्यालाई समाधान उन्मुख बनाएको छ । अन्तरिम समितिले आगामी ६ महिनाभित्रमा संघभित्र उठेका विभिन्न सवालहरूको संस्थागत रूपले समाधान गर्ने र अधिवेशन गराउने कार्यादेश पाएको छ ।

संयोजकको जिम्मेवारी पाएका खड्काले जटिल अवस्थामा आफूले नेतृत्व सम्हाल्नु परेको भन्दै अहिलेसम्म ठप्प रहेको रुकुम उद्योग वाणिज्य संघको गतिविधिलाई सुचारु गर्दै र संघको गुमेको साखलाई स्थापित गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
त्यस्तै निर्धारित समयसीमा भित्र अधिवेशन गराएर आफ्नो कार्यभार इमान्दारिताका साथ पूरा गर्ने खड्काको भनाइ छ । अन्तरिम समितिको अन्य सदस्यहरूमा व्यवसायी दलबहादुर खड्का, नवीन खड्का, डिलबहादुर केसी र पवन केसी छन् ।
अघिल्लो कार्यसमितिले चार वर्षसम्म साधारणसभासमेत नगरी हिसाब किताब अपारदर्शी बनाएको र उद्योग वाणिज्य संघले सञ्चालन गरेको मध्यपश्चिम महोत्सवको आय–व्याय सार्वजनिक नगर्नुनै अघिल्लो विवादको मुख्य जड भएकाले त्यसको सबै विवरणको खोजबिन गरी सबैसामु सार्वजनिक गर्ने दायित्वसमेत भएकाले सबैको सहयोगमा यो काम पनि आफ्नो कार्यअवधिमा पूरा गर्ने संयोजक खड्काले बताए । विवाद मिलेसँगै रुकुम उद्योग वाणिज्य संघबाट हुने नियमित कामहरू व्यवसाय दर्ता तथा नवीकरण, स्थायी लेखा नम्बरका लागि फाराम संकलन, मूल्य अभिवृद्धि कर बुझाउने कार्यको सहजीकरण लगायतका कामहरू सुचारु भएका छन् ।


सातामा धेरै पढिएको