कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
303

दसैंको अवसर पारेर असोज १ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । मेलाको सबै तयारी पूरा भएको आयोजक संस्था इभेन्ट सोलुसन प्रलिले जनाएको छ । असोज २ गतेदेखि मेला आयोजना हुने भनिएकोमा प्राविधिक कारणले असोज १ गतेदेखि नै मेला सुरु हुने भएको हो ।
चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनि स्वदेशी तथा विदेशी सामानहरू खरिद गर्न सक्ने गरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला बर्सेनि आयोजना हुँदै आएको छ । यसपटक पनि मेलालाई निरन्तरता दिँदै ‘दसैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा दसैंका लागि आवश्यक सबै किसिमका सामग्रीहरूको कारोबार हुने आयोजक संस्था इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्यान्ड र जापानका उत्पादन तथा प्रदर्शकहरूको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफरसमेत रहने आयोजकले जनाएको छ ।
“अफरै अफरको व्यापारिक मेला सपिङ गर्ने यही हो बेला भन्ने अर्को नारासहित सञ्चालन हुने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामग्री, छालाका उत्पादनहरू, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डिक्राफ्ट, इलोक्ट्रोनिक्सलगायत सामग्रीका सयभन्दा बढी स्टलहरू रहने छन् ।” इभेन्ट सोलुसन प्रालिका बजार निर्देशक नवीन भट्टले भने ।
दसैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामग्रीहरू एकै ठाउँबाट विशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्स्पोमा फिक्स्ड मूल्यका साथै विशेष अफरहरू सञ्चालन गरिनेछ । छाला जुत्ता तथा वस्तुहरूको मेलामा विशेष सहभागिता रहनेछ । एक्स्पोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफ कमर्सले गर्नेछ ।
इभेन्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीका अनुसार ६० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफूलाई आवश्यक वस्तु खरिद गर्ने आँकलन इभेन्ट सोलुसनको छ । बर्सेनि आयोजना हुँदै आएको एक्स्पोको यो संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने विश्वास लिइएको छ । स्टक क्लियरेन्स मेला असोज ५ गतेसम्म चल्नेछ ।