अनुपमा खनाल
शुक्रवार, भदौ २७, २०७६
285

गोरखा-उद्योग वाणिज्य संघ गोरखामा आवद्ध व्यवसायीहरूले गोरखामा असोज ८ गतेदेखि हुने दशैं सस्तो मेला स्थगन गर्न माग गरेका छन् । संघको समानान्तर संस्था गोरखा चेम्वर अफ कमर्सले आयोजना गरेको मेला स्थगन गर्न माग गर्दै उनीहरूले विरोध ¥यालीसहित जिल्ला प्रशासन कार्यालय र गोरखा नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
कपडा व्यबसायीको नेतृत्वमा वुझाईएको ज्ञापन पत्रमा गैर व्यवसायी र विदेशी विचौलियाको साँठगाँठमा सदरमुकाम र आसपासका व्यवसायीको हकहित विरुद्ध मेला रहेको उल्लेख छ । सम्पूर्ण उद्योगी तथा व्यापार व्यवसायीको तर्फबाट ज्ञापन पत्र बुझाइएको उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका कपडा व्यवसायी जिवनज्योती श्रेष्ठले बताए । सस्तोको नाममा मेलामा ठगी हुने उनले आरोप लगाए । “बाहिर भन्दा सस्तो हो” उनले भने “गतवर्षको मेलामा पनि देखियो । भित्र केहि सामान सस्तो पनि हुँदैन, गुणस्तरीय पनि हुँदैन । विल विजक नभएका सामान बेचविखन हुन्छन् ।” मेलाले जिल्लामा राजस्व तिरेर बसेका व्यवसायीलाई प्रत्यक्ष मर्का पर्ने अर्का फेन्सी व्यवसायी शरदबाबु श्रेष्ठले बताए । “मेला हुनु नै हुँदैन भन्ने कुरा होईन, तर दशैंको मुखमा हुन भएन” उनले भने “मासिक ५० हजार रुपैयाँसम्म सटर भाडामा लिएर व्यवसाय गर्छौ । दशैंमा व्यापार हुने सिजनमा मेला हुँदा हाम्रो व्यापार प्रभावित हुने भयो । बाहिरका ब्यापारीले मेलामा आएर जिल्लाको पैसा लाने भए ।”

दशदिने मेलाको तयारीमा जुटेको गोरखा चेम्बर अफ कमर्सले भने नाफामुखी नभई व्यवसायी र उपभोक्ताको हित अनुसार नै मेला गर्ने जनाएको छ । “हामीले जिल्लाका व्यवसायीलाई दश हजार रुपैयाँमा स्टल राख्न दिएका छौं, बाहिरका व्यवसायीसँग प्रतिस्टल २५ हजार लिन्छौ” गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले भने “बजारमा भन्दा मेलामा निकै सस्तोमा सामान विक्रि हुन्छन्, सात सय पर्ने टप्स दुई सयमा पाइन्छ, ६० रुपैयाँ पर्ने कप ३० रुपैयाँमा पाईन्छ । सस्तोको नाममा हामीले ठगी गर्नु छैन ।” मेलामा नुन, चिनि, दैनिक उपभोग्य सामाग्री बजार मूल्य भन्दा सस्तोमा उपलब्ध गराउने उनले दाबी गरे । मेलामा स्टल राख्ने सबै व्यवसायीले स्थायी लेखा नं सहित कारोबार गर्ने उनले स्पष्ट पारे । हरमटारीस्थित खेल मैदानमा हुने मेला सञ्चालनका लागि जिल्ला प्रसासन कार्यालयबाट अनुमति पाईसकेको छ । गोरखा नगरपालिकाले भने अनुमति दिन बाँकी छ ।
उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष किशोरजंग थापाले सिजनलाई आधार मानेर व्यवसायीले सस्तो मेलाको विरोध गर्नु उचित नभएको तर्क गरे । मौसमलाई आधार मानेर समर्थन र विरोध गर्नु राम्रो होईन” उनले भने “उपभोक्ताले गुणस्तरीय र सस्तो सामान चाहन्छन् । चाडबाडको बेला सरकारले नै सस्तो पसल खोलीरहेको हुन्छ नि । तर यहाँ निजि क्षेत्रले सस्तो मेला गर्न खोज्दा विरोध गर्नु राम्रो होईन । व्यवसायीहरू प्रतिस्पर्धी बनेर सामान विक्रि गर्न सक्नुपर्छ । मेलामा वा बाहिर कहाँ सामान किन्ने उपभोक्ताको आफ्नो रोजाईको कुरा हो ।” प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले यस विषयमा सरोकारवाला सबैसँग आबश्यक छलफल गरेर उचित निकास निकाल्ने बताए ।