कारोबार संवाददाता
शुक्रवार, भदौ २७, २०७६
191

ई–आर्टस् नेपालको आयोजनामा असोज १२ देखि हिमालयन आर्ट फेस्टिभल आयोजना हुँदैछ । नेपाल आर्ट काउन्सिलमा हुने फेस्टिभल असोज १६ गतेसम्म चल्नेछ ।
इ–आर्टस् नेपाल एक अनलाइन आर्ट ग्यालरी हो । नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रबद्र्धन गर्ने उद्देश्यसहित यो सन् २०१० मा स्थापना भएको हो । कयौं स्थानीय कलाकारहरू र उनीहरूका कलामार्फत सहकार्य गर्दै ई–आर्टस् नेपालले नेपाली संस्कृति र समाजबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास गर्दै आएको छ ।

ई–आर्टस् नेपालद्वारा सन् २०१७ मा सुरु गरिएको हिमालयन आर्ट फेस्टिभल, नेपाली चित्रकलाका उत्कृष्ट संकलन र प्रदर्शनी हो । फेस्टिभलले नेपाली समकालीन नेपाली कलाप्रति व्यापक र समावेशी दृष्टिकोण प्रदर्शन गर्दछ । पेन्टिङ, पौभा, मूर्तिकला, इन्स्टलेसन, फोटो, प्रिन्ट मेकिङ, सेरामिकसहितका विभिन्न शैलीका कलाका सयभन्दा बढी कलाकारका कार्यहरू प्रदर्शनका साथै प्रत्यक्ष प्रदर्शन पनि गराइरहेको छ ।
आर्ट फेस्टिभलका रूपमा वार्षिक कार्यक्रम सिर्जना गर्ने , विभिन्न क्षेत्रलाई कलाको सौन्दर्य मूल्यप्रति उन्मुख तुल्याउने, नेपाली व्यवसायिक घरानाहरूलाई नेपाली कलामा लगानीका लागि प्रोत्साहित गर्ने यसको उद्देश्य हो । स्थानीय संकलनकर्ताहरू-खरिदकर्ताहरूका लागि नेपाली कलाको प्लेटफर्म तयार गर्ने र नेपालमा कलाका अभ्यासबारे जानकारी प्रवाहित गर्ने पनि यसको उद्देश्य हो ।
पाँच दिने यो फेस्टिभल जीवन्त, सजीव तथा सांगीतिक प्रस्तुति, कला संवाद, कलाकारको प्रदर्शन, बालबालिकाका लागि कला शिक्षा कार्यक्रम, प्रयोगात्मक कत्थक नृत्य प्रदर्शन, सेरामिक फायरिङ वर्कसपसहितका विभिन्न कलासम्बन्धी गतिविधिले भरिपूर्ण रहने छ । यो कार्यक्रममा युवादेखि स्थापितसम्म वृहत कलाकारहरूका कला प्रदर्शनी हुनेछ । वास्तवमा, यो उनीहरूको उमेर वा स्तरको मतलव नगरिकन नेपाली रचनाकारहरूका लागि एक बृहत् प्लेटफर्मका रूपमा आयोजना गरिएको हो । यो फेस्टिभल नेपालका प्रमुख कलासम्बद्ध संगठनहरूको सहकार्यमा आयोजना गरिने छ ।