कारोबार संवाददाता
बिहिवार, भदौ २६, २०७६
246

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आर्थिक अवस्था भएका उपभोक्तालाई लक्षित गरेर सहुलियत दरमा ग्यास उपलव्ध गराउने तयारी भइरहेको बताएका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गदै मन्त्री यादवले आर्थिक रुपले सम्पन्न भएका उपभोक्तालाई मूल्य बढाएपनि निम्न आय भएका उपभोक्तालाई सहुलियत दरमा उपलव्ध गराउनका लागि छलफल भइरहेको बताए ।

मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानूनी जटिलता थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको बताए । यस अघि दुई वटा रङका सिलिन्डर तयार गरेर उपभोक्तालाई सहुलियत दरमा ग्यास उपलव्ध गराउने योजना कार्यान्वयनमा आउन सकेको थिएन । मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानूनी जटिलता थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान सरकार तयार रहेको बताए । व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाइरहेको मन्त्री यादवको भनाई छ ।
नेपाल ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले नाकाबन्दीपछि ग्यास बुलेट चलाउने निर्णय कार्यान्वयन नगर्दा उद्योगीको करोडौं रुपैयाँ डुबेको बताए ।
सरकारकै निर्णयमा ग्यास बुलेट खरिद गरेपनि निर्माण सम्पन्न भएका ग्यास बुलेटले ग्यास ढुवानी गर्न नपाउँदा व्यवसायीको लगानी फसेको उनको भनाई छ ।
प्रधानमन्त्री ओलीकै निर्देशनमा तात्कालिन अर्थमन्त्री विष्णु पौडेलले नेपाली ग्यास बुलेट राख्नका लागि भन्सारमा ६६ प्रतिशत छुट दिने गरि बजेटमा व्यवस्था गरिएको थियो । यो निर्देशनपछि नेपाल आयल निगमले नेपाली बुलेट राख्न टेण्डर आह्वान गरेको थियो । त्यसपछि व्यवसायीले बुलेट निर्माण गर्न भारतीय कम्पनीलाई दिएका थिए । ग्यास बुलेट निर्माण भएको तीन वर्ष भइसक्दा पनि ढुवानी गर्नका अनुमति नपाउँदा लामो समयदेखि भारतमै थन्किएका छन् ।

संघको अध्यक्षमा पुनः भण्डारी
नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी पुन निर्विरोध निर्वाचित भएका छन् । संघको बुधबार भएको साधारणसभाबाट भण्डारी पुनः अध्यक्षमा चयन भएका हुन् ।
यस्तै संघको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षद्वयमा शंकर श्रेष्ठ र मनोजकुमार दास चयन भएका छन् । यस्तै महासचिवमा दिवान चन्द, कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र सचिवमा धर्मराज बर्तौला चयन भएका छन् ।
सदस्यहरुमा सुनिल सिन्हा, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, आशिष अग्रवाल जाजोदिया, बाबुराम पोखरेल, योगेश घिमिरे र सुदिप घिमिरे चयन भएका छन् । संघले योगेश पौडेल र अमित अग्रवाललाई मनोनित सदस्यका रुपमा चयन गरेको छ ।


सातामा धेरै पढिएको