लक्ष्मण ढुंगाना
मंगलबार, भदौ २४, २०७६
320

नेपालगञ्ज-बाँकेको नेपालगन्जदेखि भारतको उत्तर प्रदेशको राजधानी लखनउसम्म सीधा बस सेवा सञ्चालनमा आएको छ । भेरी यातायात प्रालीले उक्त बस सेवा संचालनमा ल्याएको बससेवाको आईतबार नेपालगञ्जका मेयर डा. धवलशमसेर राणा र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले हरियो झण्डा फहराएर शुभारम्भ गरे ।
साथै बसमा यात्रा गर्ने यात्रुहरुलाई फुलमाला र अविर सहित बिदाई गरिएको थियो । मेयर राणाले हरियो झन्डा देखाएर बसलाई प्रस्थान गर्न संकेत गरेपछी बस लखनउका लागि प्रस्थान गरेको थियो । मेयर राणाले नेपालगन्ज लखनउ बस सेवा संचालनमा आएकोमा आफू एकदमै खुशी भएको बताए । उनले नेपालगन्जलाई क्यासिनो सिटीको शहर बनाउदै गर्दा यो सेवा संचालन भएपछी उताबाट यहाँ आउने भारतिय पाहुनाहरुलाई सरल र सहज हुने बताए । उनले उताबाट पनि बिहानको समयमा एउटा बस छुटाउनका लागि प्रालिलाई सुझाब दिए ।

दिल्लीसम्म बस सेवा सञ्चालन गर्दै आएको भेरी बस समितिले उत्तरप्रदेश परिवहन निगमसंगको सम्झौताको आधारमा बस सेवा सञ्चालन गरिएको अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए । ‘अहिले लखनउ र त्यसपछि हरिद्धार रुटमा समेत सञ्चालन गर्ने योजना बनाएका छौ’ उनले भने ।  उनले मध्यपस्चिमका धेरै जिल्लाबाट नेपालीहरु उपचारका लागि लखनउ जाने हुनाले उनिहरुलाई सहज रुपमा त्यहाँ पु-याउने उद्देश्यले बस सेवा संचालनमा ल्याएको बताए । उनले भारतको रुपैडिहा पुगेर त्यहाबाट महङ्गो पैसा तिरेर ट्याक्सी र बसबाट नेपाली यात्रुहरु लखनउ पुग्दा ठगिने लुटिने सम्भावना पनि हुने हुदा अब यहाँबाट सिधै नेपाली बस सेवा शुरु भएपछी त्यो समस्या पनि नरहने बताए ।
यस्तै, होटेल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले यो सेवा संचालनमा आएपछी नेपाली यात्रुहरुलाई निकै सुबिधा हुने बताए । उनले यो प्रालिले सरकारबाट अनुमती प्राप्त गरेर सेवा संचालनमा ल्याए जस्तै अरुले पनि अनुमती प्राप्त गरेर मात्र बस सेवा संचालन गर्नुपर्ने बताए । कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, आदर्श थाना रुपैडिहाका ईन्चार्ज मनिस कुमार पाण्डे, भेरी यातायात प्रालिका प्रबन्धक उमेश गुरागाई, यातायात व्यवसायी शोभाखर पौडेल लगाएतले बसको निरन्तरताको शुभकामना व्यक्त गरेका थिए । नेपालगञ्जको कारकाँदो चौकमा टिकट काउन्टर राखेर नेपालगञ्जबाट लखनउको लागि विहान ८ बजे र लखनउको केशरबागबाट राती सवा ९ बजे बस सञ्चालन हुने र टिकटको मोल ५ सय रुपैयाँ रहेको बताईएको छ ।