कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६
353

निजी क्षेत्रलाई व्यापार व्यवसायमा जिम्मेवार बनाउने उद्देश्यले राजधानीमा सम्मेलन सुरु भएको छ । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)ले तेस्रो जिम्मेवार व्यवसाय सम्मेलन आयोजना गरेको हो । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले बुधबार सम्मेलनको उद्घाटन गरे ।
सम्मेलनमा कार्यवाहक प्रधानमन्त्री पोखरेलले वास्तविकता भन्दा बढी भ्रम छरेर सरकारलाई आलोचना गर्ने काम भएको उनले जिकिर गरे । करका बारेमा भ्रम छर्ने काम भएको भन्दै उनले भने, “नयाँ संरचनामा गएकाले करको विषय वहसमा आएको हो तर वाहिर हल्ला गरिए जस्तो होइन ।”

पोखरेलले सरकारलाई निशाना बनाएर अवाञ्छित टिप्पणी भएको दावी गरे । “संविधानले व्यवस्था गरे अनुसार निजी क्षेत्रलाई प्राथमिकतामा राखेर यो सरकार अघि बढिरहेको छ तर यहाँ अनेक हल्ला फैलाउने काम भएको छ,” उनले भने, “सामाजिक र आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ । निजी क्षेत्रको भूमिकालाई अहिलेको सरकारले राम्रोसँग बुझेको छ ।” उनले मुलुकको विकासमा निजी क्षेत्रको दुई तिहाई लगानी रहेको बताउँदै निजी क्षेत्रको विकासबिना समृद्धि सम्भव नरहेको समेत बताए ।
पोखरेलले दिगो विकासका लागि जिम्मेवार निजी क्षेत्र आवश्यक रहेकोमा पनि जोड दिए । सिन्डिकेट, कार्टेलिङ जस्ता अव्यावसायिक क्रियाकलाप रोकेर असल अभ्याससहित व्यवसाय गर्नुपर्ने बताए । उनले एनबीआई मुलुक चरम द्वन्द्वमा रहेको बेला स्थापना भएको बताउँदै राजनीतिक पृष्ठभूमि फेरिएको सन्दर्भमा समेत संस्थाको भूमिका आवश्यक रहेको बताए । कार्यक्रममा एनबीआईका अध्यक्ष पद्मज्योतिले दिगो विकासका लागि व्यवसायिक क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । दिगो विकास लक्ष्य(एसडीजी)को उद्देश्य सन् २०३० सम्ममा गरिबीको अन्त्य गर्नु रहेको बताउँदै उनले चरम गरिबी लगायत गरिबीका सबै स्वरूप अन्त्य चुनौतीपूर्ण रहेको बताए । ज्योतीले एसडीजीका १७ वटा लक्ष्य प्राप्त गर्न व्यवसायी समेत जिम्मेवार बन्नुपर्ने बताए ।
कार्यक्रममा एनबिआईका उपाध्यक्ष कुशकुमार जोशीले गरीबी अन्त्यका लागि रोजगारी सबैभन्दा राम्रो माध्यम रहेको बताए । “गरीबी अन्त्यका लागि रोजगारीनै राम्रो माध्यम हो । त्यो सरकारी र निजी क्षेत्रबाट मात्रै सम्भव हुन्छ,” उनले भने, “रोजगारी सिर्जनाका लागि व्यवसायिक वातावरण समेत राम्रो बन्नुपर्छ ।”